केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ साउन ।
संसारमा उनी जत्तिको मार्केटेबल खेलाडी कमै होला । आफ्नो ड्रिब्लिङ, पावरफुल सुट र विपक्षीसँग धकेलाधकेल गर्नसक्ने खुबीका कारण २५ वर्षका उनी सधैं चर्चामा रहन्छन् । उमेर कम भए पनि ५ पटकको विश्व विजेता ब्राजिलका कप्तान भएका कारणले समेत संसारभर उनका समर्थक अथाह छन् । उनी कुदेर आक्रमण गर्न चाहन्छन् । त्यसका लागि चाहिने शक्ति र प्रतिबद्धता उनीसँग सधैं हुन्छ । मैदानभित्र उनी परफेक्ट खेलाडी हुन् ।
प्यारापिटबाट आफ्नो क्लब बार्सिलोनाको समर्थन गरिरहेका क्याम्प नोउमा उपस्थित दर्शकलाई उनले धेरैपटक खुसी तुल्याएका छन् । गोल गरेपछि झन्डै १ लाख दर्शकतर्फ फर्किएर आफ्नो जर्सी नम्बर देखाउने बानी परेका नेयमार अब बार्सिलोना छाडेर तुलनात्मक रुपमा कम दर्शकले हेर्ने फ्रान्सेली लिग जाँदैछन् । यससँगै उनलाई साथ दिने टोलीका स्टार खेलाडीहरु, बार्सिलोनाका समर्थक र ला-लिगाका विपक्षी टोलीका खेलाडी र समर्थक समेतले अब नेयमारलाई मिस गर्नेछन् ।

पिएसजीको घरेलु मैदानको दर्शक संख्या झन्डै ४८ हजार छ । त्यसमाथि त्यहाँ पिएसजी र मोनाकोबाहेक अन्य क्लबमा स्टार खेलाडी छैनन् । त्यसैले थुप्रै खेलमा रंगशाला खाली-खाली रहन्छ । तर यी कुराहरु सबै फिक्का हुने भए किनकी थोरै दर्शक भएपनि नेयमार त्यहाँ प्रमुख खेलाडी हुनेछन् । आकर्षणको केन्द्र हुनेछन् ।
बार्सिलोना यी फुटबलरलाई क्लबमै राख्न चाहन्थ्यो । त्यसैले उनको मुल्य २ सय २२ मिलियन युरो तोकिएको थियो । गत वर्ष पाउल पोग्बालाई १ सय ५ मिलियन युरो अर्थात विश्वकिर्तिमानी रकम तिरेर म्यानचेस्टर युनाइटेडले किनेको थियो ।
नेयमारका लागि पोग्बाभन्दा धेरै रकम खर्चन ठूला क्लबहरु तयार थिए । तर १ वर्षभित्रै फुटबल इतिहासकै विश्वकिर्तिमानी रकमको दोब्बरभन्दा धेरै धनराशी तिर्न कुनै क्लब तयार हुन्छ भन्ने विश्वास कमैलाई थियो । धेरैको अनुमान थियो, जति हल्ला भएपनि नेयमार बार्सिलोनामै बस्छन् । बार्सिलोनालाई पनि त्यस्तै लागेको थियो, केही दिनअघिसम्म ।
तर पेरिस सेन्ट जर्माइनले यति आर्कषक प्रस्ताव राख्यो, जसलाई नेयमारले ‘हुन्न’ भन्ने सकेनन् । पेरिस सेन्ट जर्माइन नेयमारका लागि विश्वकिर्तिमानी रकम तिर्न मात्रै तयार भएको होइन । उनले बार्सिलोनामा वार्षिक रुपमा कमाउँदै आएको तलब–भत्तालाई दोब्बर गर्न समेत तयार भएको हो ।
पिएसजीले पठाएको यस्तो प्रस्तावबारे नेयमारले बार्सिलोनाको बोर्डलाई जानकारी दिइसकेका छन् । खेलाडीले नै जान्छु भनेपछि बार्सिलोनाले पनि रोक्ने कुरा आएन । क्लबको बोर्डले यतिमात्रै भन्यो, ‘जाने भए तिम्रो लागि तोकिएको मुल्य एकैपटकमा चुक्ता गर।’
बुधबार नेयमार आफ्ना बाबुसँगै बार्सिलोनाको ट्रेनिङ सेन्टर पुगे । उनले टोलीका सहकर्मी खेलाडीहरुसँग बिदा मागे । आन्द्रेस इनिस्टा, जेरार्ड पिके, लुइस सुआरेज र लियोनल मेसीजस्ता खेलाडीहरुले यसअघि उनलाई क्लबमै बस्नका लागि सुझाव दिएका थिए । तर नेयमारले टेरेनन् ।
पिएसजी जान्छु भनिसकेपछि बार्सिलोनाका प्रशिक्षक भेलभार्डो अर्नेस्टोले पनि नेयमारलाई रोक्न सक्ने कुरा थिएन । उनले नेमारको सुखद भविष्यको कामना गरे । नेयमारलाई स्थानान्तरणको प्रक्रिया छिटो पूरा गर्न शुभकामना दिँदै तत्कालका लागि अभ्यास नगर्न छुट दिए ।
प्रि-सिजन टुरअन्तर्गत अमेरिकामा भएका खेलमा म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड विरुद्ध उत्कृष्ट खेलेका नेयमारले अब बार्सिलोनामा अभ्यास गर्न छाडेका छन् । उनी पेरिस सेन्ट जर्माइनको खेलाडी हुनका लागि कागजमा दुई क्लबका पदाधिकारी र उनी स्वयंले हस्ताक्षर ठोक्न मात्रै बाँकी छ ।
मेसी र लुइस सुआरेज लगायतका खेलाडीले पनि नेमारको सफल भविष्यको कामना गरेका छन् ।
विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्ने चाहना
बार्सिलोनामा लियोनल मेसी छन् । विश्व फुटबलमै सर्वाधिक ५ पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्ने किर्तिमान मेसीको नाममा छ । यसबाहेक बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने, सर्वाधिक पास मिलाइदिने, घरेलु मैदानमा सर्वाधिक गोल गर्ने लगायत थुप्रै किर्तिमान मेसीका नाममा छन् । मेसी नेयमारका आदर्श खेलाडी समेत हुन् ।
नेयमारले बार्सिलोनामा गरेका १ सय ५ गोलमध्ये २० गोल मेसीकै पासमा गरेका छन् । उनले मेसीलाई २२ पटक गोलका लागि पास मिलाइदिएका छन् । समग्रमा नेयमारले सहकर्मी खेलाडीहरुलाई ५९ पटक गोलका लागि पास मिलाइदिएका छन् । यसरी व्यक्तिगत रुपमा सुमधुर सम्बन्ध भएका यी दुई खेलाडी राष्ट्रिय टोलीबाट खेल्दा भने एकअर्काका कट्टर दुश्मन हुन् ।

मेसीले बार्सिलोनाको कप्तानी गर्छन् भने नेयमारले ब्राजिलको । यी दुई देश विश्व फुटबलका सबैभन्दा ठूला दुश्मन हुन् । त्यसैले यी दुई खेलाडी धेरै मिलेको उनका देशका जनतालाई पनि पचेको छैन ।
अझ सबैभन्दा धेरै पीडा ब्राजिलीहरुलाई छ किनकी उनीहरुका कप्तान मेसीको छायामा छन् । जबकी आगामी वर्ष ब्राजिल छैटौं पटक विश्वकप जित्न चाहन्छ । यस्तो अवस्थामा मेसीपछिको दोस्रो महत्वपूर्ण खेलाडी हुनुभन्दा आफैं केन्द्रमा रहेर खेल्नु नेयमारका लागि फाइदाजनक हुन्छ । त्यसैले उनी त्यस्तो क्लबमा जाँदैछन्, जहाँ चर्चामा उनी हुन्छन् । उनलाई नै केन्द्रमा राखेर टिम निर्माण हुनेछ ।
बार्सिलोनालाई मेसीको घर पनि भनिन्छ । नेयमार यहाँका स्टार हुनसक्लान् । तर लिजेन्ड त मेसी नै हुन् । नेयमारले गोल गरेर खेल जिताउँदा पनि समर्थकहरु ‘मेसी’ भनेर चिच्याइरहेका हुन्छन् । यस्तो परिस्थितीबीच मेसीको छायाबाट मुक्त हुनका लागि नेयमारले बार्सिलोना छाड्न लागेको धेरैको अनुमान छ ।

अर्को कुरा, नेयमारले अहिलेसम्म फिफा वर्ष खेलाडीको अवार्ड जितेका छैनन् । त्यसैले फिफा वर्ष खेलाडीको अवार्ड जित्नका लागि पनि उनी मेसीसँगको सहकार्य तोड्न चाहन्थे । मेसीसँग अलग भएर अन्य क्लबलाई ठूला प्रतियोगिता विशेषगरी युरोपेली च्याम्पियन्स लिग जिताउँदा मात्रै नेयमारले फिफा वर्ष खेलाडीको अवार्ड जित्ने संभावना बढ्छ । मेसीसँगै बार्सिलोनाबाट यो उपाधि जित्दा त वर्ष खेलाडीको अवार्ड पनि मेसीले नै जित्ने संभावना बढी हुन्छ । कम्तिमा पनि अहिलेसम्म यस्तै देखियो, त्यसैले नेयमारले बार्सिलोना छाडे ।
कति रकम पाउनेछन् ?
नेयमारलाई किन्नका लागि पेरिस सेन्ट जर्माइनले २ सय २२ मिलियन युरो (२६ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ भन्दा बढी) रकम बार्सिलोनालाई बुझाउनेछ । तर समग्रमा ४ सय मिलियन युरोभन्दा धेरै पैसा नेयमारका लागि खर्च गर्नेछ किनकी नेयमारले पेरिस सेन्ट जर्माइनमा ५ वर्षको सम्झौता गर्नेछन् ।
यस सम्झौता बमोजिम प्रति वर्ष उनले ४५ मिलियन युरो (५ अर्ब ४२ करोड ८२ लाख रुपैयाँभन्दा बढी) रकम प्राप्त गर्नेछन् । यस रकममा उनले तिर्नुपर्ने कर समेत समावेश हुनेछ ।

फ्रान्सेली सरकारलाई कर तिरिसकेपछि नेमारको गोजीमा प्रति वर्ष ३० मिलियन युरोभन्दा बढी अर्थात ३ अर्ब ६१ करोड ८८ लाखभन्दा बढी वार्षिक पारिश्रमिक पर्नेछ । यो युरोपमा कुनै पनि फुटबलरले कमाउने सबैभन्दा ठूलो रकम हो ।
यो रकम नेपाली खेलकुदको वार्षिक कुल बजेटभन्दा झन्डै १ अर्ब ३७ करोडले बढी हुन आउँछ ।
स्टारडम यात्रा
ब्राजिलको साओ पाओलोस्थित मोगी दास क्रुजेसमा सन् १९९२ मा जन्मिएका नेयमार सानै उमेरदेखि फुटबलमा आकर्षित भए । स्थानीय क्लब पोर्चुगेसा सानटिस्टाबाट ७ वर्षकै उमेरमा फुटबल खेल्न थालेका नेयमार ११ वर्षको छँदा सान्तोस आएका थिए । सान्तोसले नै उनलाई विश्व फुटबलमा चिनायो ।

(फोटो : १४ वर्षका नेयमार )
१७ वर्षकै उमेरमा सान्तोसको सिनियर टोलीबाट डेब्यु गरेका नेयमारले व्यवसाहिक करियरको पहिलो सिजनमै १४ गोल गरे । उनले सन् २०१०-११ को सिजनमा सान्तोसलाई ब्राजिलको लिग फुटबल जिताए । त्यही वर्षको दक्षिण अमेरिकी वर्ष फुटबलर अवार्डमा १८ वर्षका नेयमार तेस्रो भए ।
सन् २०११ मा फाइनलमा पेनारोललाई हराएर सान्तोसले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो क्लब फुटबल कोपा लिबर्टाडोरेस जित्यो । फाइनलमा उत्कृष्ट खेलेका नेयमार म्यान अफ दी म्याच घोषित भए । यस वर्ष भने नेयमारले दक्षिण अमेरिकी वर्ष फुटबलरको अवार्ड जिते । उनको ख्याति चुलियो । युरोपका क्लबहरुले उनलाई अनुबन्ध गर्नका लागि चासो देखाए। तर सान्तोस यी खेलाडीलाई बेच्न तयार भएन ।
२ वर्षपछि नेयमारले सान्तोस छाडे । यतिबेलासम्म उनले २ सय २५ खेल खेल्दै १ सय १६ गोल गरिसकेका थिए । रियल म्याड्रिडले यी खेलाडीलाई भित्र्याउन ठुलै कसरत गरेको थियो । तर लियोनल मेसीसँगै फुटबल खेल्ने योजना बनाएका नेयमार बार्सिलोना आए ।

नेयमारलाई ल्याउँदा कर छली गरेको पुष्टि भएपछि बार्सिलोनाका तत्कालीन अध्यक्ष सान्द्रो रोसेलले पदबाटै राजीनामा दिनुपर्यो । बार्सिलोनामा ५ वर्ष बिताउने क्रममा नेयमारले २ पटक ला-लिगा, ३ पटक कोपा डेल रे र ११ अवसरमा क्लब विश्वकप तथा युरोपेली च्याम्पियन्स लिग जितेका छन् ।
उनले बार्सिलोनाबाट १ सय ८६ खेलमा १ सय ५ गोल गरेका छन् । ५९ पटक गोलका लागि अवसर सिर्जना गरिदिएका छन् । १८ वर्षको उमेरमै ब्राजिलको राष्ट्रिय जर्सी पहिरिएका नेयमारले देशका लागि ७७ खेल खेल्दै ५२ गोल गरेका छन् । उनी सन् २०१५ देखि ब्राजिलको नियमित कप्तान छन् ।
(एजेन्सीको सहयोगमा )































प्रतिक्रिया