मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताएका छन् ।
सोमवार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै चौलागाईंले यस्तो बताएका हुन् उनले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको बताए । उनले उद्योग दर्ता र नविकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता अझै कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रका लागि संघीयता आउन नसकेको बताए ।
उनले भने, ‘निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न पाएका छैनौँ । आज पनि लगानीमैत्री वातावरण देशमा छैन । यो प्रदेश सरकार आएपछि औद्योगिक क्षेत्रमा क्रान्ति होला भनेको त्यो देखिएन । उद्योग दर्ता र नविकरणका लागि काठमाडौं जानुपर्छ भनेपछि कहाँनेर आयो संघीयता ? हामीले अहिलेसम्म कतिवटा उद्योग चलाउन सक्यौँ र चलाउने वातावरण कति बनायौँ ? त्यसको मूल्यांकन हुनुपर्छ । उद्योग मन्त्रालयमा सबैभन्दा कम छ । नापतौल कार्यालय प्रदेशमा नआउँदा नापतौलका लागि ढक, तराजु बोकेर वीरगञ्ज कार्यालय धाउनुपर्छ ।’
त्यस्तै, व्यवसायी बद्रिनाथ शर्माले संघीयताले निजी क्षेत्रको मानमर्दन गर्ने काम गरेको आरोप लगाए । उनले तीन तहको सरकारले उद्योगी व्यवसायीहरुलाई औद्योगिक क्षेत्रमा जथाभावी भाडा बढाएर आतङ्कित समेत बनाएको बताए । ‘निजी क्षेत्र नभइ राष्ट्रिय अर्थतन्त्र चल्दैन । अहिले जसले उद्योग चलाउने इच्छा देखाउँछ उसले उद्योग स्थापना गर्न पाउँदैन । औधोगिक क्षेत्रमा जथाभावी व्यवसायीहरुलाई भाडा बढाउने काम गरिएको छ । यसरी निजी क्षेत्रलाई आत्तकित बनाउने र मानमर्दन गर्ने काम गरेको छ ।’ उनले भने ।
शर्माले तीन तहका सरकारहरुले निजीलाई आतङ्कित बनाएर जाने हो भने संघीयता कार्यान्वयनमा चुनौती रहेको बताए ।





























प्रतिक्रिया