दक्षिण एशियाका साना छिमकी मुलुकमाझ ‘खोप कूटनीति’ शुरु गरेको भारतले भूटान, बंगलादेश र मालदिभ्सलाई कोरोना भाइरसको खोप बनेसँगै उपलब्ध गराउने वाचा गरिसकेको छ । तर, खुला सीमाना भएको संवेदनशिल मित्र राष्ट्र नेपाल दिल्लीको सूचिमै छैन । यसैबाट थाहा हुन्छ, दिल्ली काठमाडौंबाट निकै ‘दूर’ भइसकेको छ ।
आठ महिना अघि चीनबाट फैलिएको कोरोना महामारीले यतिवेला विश्वलाई अत्याएको छ । यसअघि कहिले नदेखिएको यस्तो प्रकृतिको भाइरस अझै कति समय रहन्छ र यसको खोप कहिले सम्ममा बनि सक्छ भन्ने प्रश्नको जवाफ कसैसँग छैन ।
तर, यो रोगको खोप बनि नसक्दै विश्वका शक्ति राष्ट्रहरुमा ‘खोप कूटनीति’ भने शुरु भइसकेको छ । कोरोना संक्रमणका कारण विश्वभर आठ लाख मानिसको मृत्यु भइसकेको छ । यसबाट संक्रमितको संख्या २ करोड ३३ लाख भन्दा माथि छ । अझैपनि विश्वभर दैनिक करिव दुई लाख संक्रमित थपिने क्रम रोकिएको छैन ।
एशियाली मुलुकमध्ये भाइरसको हटस्पट बन्दै गइरहेको भारत पनि यो रोगको चपेटामा नराम्रोसँग परिरहेको छ । त्यहाँ दैनिक ७० हजारको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । तर, रोगले थलिंदै गएको भारत भने दक्षिण एशियाली मुलुकमा खोपमाथि राजनीति गर्न थालिसकेको छ । खोप पत्ता लागे आफूले उपलब्ध गराउने वाचा भारतले अन्य साना दक्षिण एशियाली मुलुकलाई गर्न थालिसकेको छ ।
यसै साता प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश बोकेर बंगलादेशको राजधानी ढाका पुगेका भारतका विदेश सचिव हर्ष श्रृंगलाले दुई मुलुकको सम्बन्ध विशेष रहेको भन्दै खोपको उत्पादन हुनासाथै बंगलादेशलाई उपलब्ध गराउने बताए ।
श्रृगंलाले दुई दिने ढाका बसाईका क्रममा प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्दै मोदीको विशेष सन्देश सुनाएका थिए । उनले प्रधानमन्त्री हसिनालाई समेत भारतले बंगलादेशलाई खोप बनेपछि दिन चाहेको बताएका थिए । हसिनाले भारतको उक्त प्रस्तावलाई स्विकारेको बंगलादेशका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
तर अचम्म त के छ भने, अघिल्लो महिना चीनले अघिल्लो महिना बंगलादेशलाई आफुले निर्माण गरिरहेको खोपको परिक्षण बंगलादेशी नागरिकमाथि पनि गर्न चाहेको प्रस्ताव गरेको थियो । तर चीनको यस्तो प्रस्तावलाई शेख हसिनाले अस्विकार गरिदिएकी थिइन् ।
तर दिल्लीसँग नजिकिंदै गएको भनिएको बंगलादेशले बन्दै नबनेको कोरोना भाइरसको खोप लिनलाई भने स्विकारेको छ । यसैबाट प्रष्ट हुन्छ, दक्षिण एशियामा खोप कूटनीति शुरु मात्र भएको छैन, यस क्षेत्रको शक्ति मुलुक भारत साना मुलुकमाथि त्यसको भरपुर उपयोग गरिरहेको छ ।
त्यसो त विश्वमा खोप कूटनीति रुस लगायत चीन, अमेरिका र यूरोपले पनि गरिरहेका छन् । शक्ति मुलुकले साना मुलुकलाई आफ्नो प्रभावमा पार्न खोप बनेपछि प्राथमिकता दिएर उपलब्ध गराउने वाचा गरिरहेका छन् । चीनले खोपको परिक्षण सफल भए अफ्रिकी मुलुकहरुलाई उपलब्ध गराउने बताइसकेको छ ।
भारतले पनि अन्य शक्ति मुलुकको अनुशरण गर्दै साना दक्षिण एशियाली मुलुकलाई प्रभावमा राखि राख्न खोप कूटनीति शुरु गरेको हो । यसअघि दिल्लीले भूटान र मालदिभ्सलाई खोप बनेपछि उपलब्ध गराउने बताइसकेको छ । तर, पछिल्लो समय सम्बन्ध बिग्रदै गएको नेपाललाई भने खोप उपलब्ध गराउने भारतको प्राथमिकता नै छैन ।
भारत विश्वमै खोप तथा औषधी उत्पादनमा अग्रपंक्तिमा छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयदेखि अमेरिकाको सबैभन्दा ठूलो औषधि निर्माण कम्पनी भारतसँगै मिलेर कोरोना खोप बनाउन लागिपरेका छन् । यस्तोमा खोप उपलब्ध गराउने भारतको सूचिमा नेपाल हालसम्म कतै पनि छैन । जबकी, खुला सीमाना भएको नेपाल भारतका लागि अत्यन्तै संवेदनशिल मुलुक हो ।
दुई परम्परागत मित्र राष्ट्र नेपाल र भारतबीच चार महिना अघिदेखि कालापानी–लिपुलेक क्षेत्रलाई लिएर सम्बन्ध बिग्रेको छ । अघिल्लो वर्ष भारतले आफ्नो राजनीतिक नक्सामा यी भूमिलाई समाबेस गरेको थियो भने नेपालले पनि केही समय अघि आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दै यी मुलुक आफ्नोमा राखेको थियो ।
यसैकारण रुष्ट बनेको दिल्लीले अहिले आएर नेपाललाई देखाउनै लागि अन्य दक्षिण एशियाली छिमेकीसँग खोप कूटनीतिको खेल खेलिरहेको छ । त्यसो त, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आएको भाइरसभन्दा दक्षिणबाट आएको भाइरस कडा रहेको प्रतिक्रिया दिए पनि त्यसले दिल्लीलाई थप चिढ्याएको थियो ।
तर, भारतले खोप बनेपछि छिमेकी राष्ट्रलाई उपलब्ध गराउँछु भन्दै हिंड्नु र नेपाल उसको सूचिमा समेत नहुनु नेपालको गम्भिर कूटनीतिक कमजोरी हो । महामारीबाट मुलुकलाई जसरी पनि जोगाउन खोप बनेपछि प्राथमिकताका साथ ल्याउन नेपाललाई भारतको सहयोग नभई हुँदैन । त्यसैले पनि दिल्लीस्थित नेपाली राजदूत र काठमाडौंमा रहेको परराष्ट्र मन्त्रालय खोपको लबिङमा लाग्नु अपरिहार्य छ ।
नेपालको सबैभन्दा नजिकको मित्र भारतले खुला सिमाना भएको संवेदनशील सानो मुलुकलाई खोप उपलब्ध गराउने न त कुनै चासो नै देखाएको छ, न त नेपाली पक्षले नै कुनै औपचारिक पहल गरेको देखिएको छ । यसबाट पनि दुई मुलुकबीचको सम्बन्ध कतिसम्म तल झरेको छ भन्ने प्रष्ट हुन्छ ।
विश्वमा खोप कूटनीतिको नयाँ खेल शुरु भएको अवस्थामा नेपालले पनि शक्ति मुलुकको ‘राडार’मा आफूलाई राख्न सक्नुपर्छ । यस्तोमा भुत्ते बनिरहेको आफ्नो कूटनीतिक संयन्त्रलाई परिचालन गर्नु बाहेकको नेपालसँग अर्को बिकल्प छैन । त्यसैले सार्थक गृहकार्य अहिले नै थाल्नु पर्ने अवस्था आइसकेको छ ।





























प्रतिक्रिया