स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकार पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गृहकार्य गरेर सोमबार अर्को चरणको वार्ता गरिने डा. केसीका सहयोगी प्रितम सुवेदीले जनाकारी दिए ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल भएको छ । सेती प्रादेशिक अस्पतालले डा. केसीमा कमजोरी, टाउको दुख्ने, रिङगटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, पेट पोल्ने र दुख्ने, शरीरको मांशपेशी दुख्ने, बाउँडिने, मुटुको धडकन गडबढी, रक्तचाप घट्दै जाने लगायतका समस्या देखिएकोे जनाएको छ । उनमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम भएको प्रयोगशाला रिपोर्टमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव र डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली सहभागि भएको थियो ।
डा. केसीले देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने माग राखेका छन् ।
यस्तै सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने माग राखेका छन् ।































प्रतिक्रिया