फिफा विश्वकप २०२२ः रोनाल्डो, मेस्सीदेखि यी स्टारहरूका अन्तिम विश्वकप

फिफा विश्वकप २०२२ः रोनाल्डो, मेस्सीदेखि यी स्टारहरूका अन्तिम विश्वकप

केन्द्रबिन्दु
0
Shares

फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले कतार २०२२ मा हुने आफ्नो पाँचौं विश्वकप खेल्दै छन् । 

यो पाँचौं विश्वकप यी दुई सुपरस्टार खेलाडीका लागि अन्तिम हुने सम्भावना छ । झण्डै १५ वर्षदेखि ‘बेस्ट’ को ट्यागमा दबदबा कायम गरेका यी दुई लिजेण्डसँगै रोबर्ट लेवान्डोस्की, नेयमार जुनियर, लुइस स्वारेज, एडिसन काभानी, करिम बेन्जेमालगायतका स्टारहरूका लागि पनि यो विश्वकप अन्तिम हुन सक्छ । आजको लेखमा हामी संसारमै फुटबल खेल मार्फत प्रसिद्धी कमाउन सफल ७  खेलाडीका बारेमा बताउने छौं । 

१. क्रिस्टियानो रोनाल्डो
पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन तथा म्यान्चेस्टर युनाइटेडका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् क्रिस्टियानो । उनले सन् २००८ मा पहिलो पटक फिफा बेलोन डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए । उनले चार पटक बेलन डिओर जितिसकेका छन् । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता पनि हुन । युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोलको किर्तिमान पनि उनकै नाममा छ । उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी पनि हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८१५ भन्दा बढी गोल गरिसकेका छन् । धेरै अवसरमा विज्ञानलाई च्यालेन्ज गर्छन रोनाल्डो । उमेरले उनी ३७ वर्षका भइसकेका भए पनि यो उमेरमा प्रिमियर लिग खेल्नु आफैमा ठूलो उपलब्धि हो । फुटबलको इतिहासमा सर्वकालीन महान गोलकर्ताले बनेका उनी सन् २०२४ को युरो खेल्ने बताइसकेका छन् । तर सन् २०२६ को विश्वकप लगभग असम्भव छ भन्ने सबैलाई थाहा छ । 

२. लियोनल मेसी
सात पटकको बालोन डी’ओर विजेता मेसी अहिले ३५ वर्षका भइसकेका छन् । यो खबरले कुनै पनि फुटबल फ्यानलाई चोट पुर्याउनेछ । हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनबाट लिग वान र अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन् । यसअघि उनी ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्ने गरेका थिए । लियोनल मेसीलाई आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एकका रुपमा चिनिन्छ । 

३. नेमार
ब्राजिलका सुपरस्टार नेमारलाई असाधारण प्रतिभाको आशीर्वाद छ । अहिलेसम्म उनको करियरमा फिटनेस एउटा मुद्दा बनेको छ । व्यावसायिक रूपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन आबद्ध भएका छन् । उनी फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन । ३० वर्षीय ब्राजिलियनका लागि अर्को विश्वकप अन्तिम हुन सक्छ । 

४. लुका मोड्रिच
सन् २०१८ को बालोन डी’ओर विजेता लुका मोड्रिचले सन् २००६ मा विश्वकप डेब्यू गरेका थिए । मोड्रिच हाल स्पेनी क्लब रियल मड्रिडका प्रभावशाली खेलाडी तथा क्रोएसिया राष्ट्रिय टिमका कप्तान हुन् । मोड्रिच मुख्यतया प्रमुख मध्यपङ्क्तिबाट खेल्ने गर्छन् । तर उनी आक्रामक मध्यपङ्क्ति वा रक्षात्मक मध्यपङ्क्तिका रूपबाट समेत खेल्न सक्छन् । मोड्रिचलाई आफ्नो समयको सबैभन्दा उत्कृष्ट मध्यपङ्क्ति खेलाडीहरू मध्येका एक मानिन्छन् । ३७ वर्षे लागिसकेका लुकाको खेल जिवनको सनसनीपूर्ण अवधि पनि सन् २०२६ को विश्वकप अघि समाप्त हुने सम्भावना प्रवल छ ।

५. रोबर्ट लेवान्डोस्की
पोल्याण्डका खेलाडी अहिल ३४ वर्ष भइसकेका छन् । पोल्यान्ड घरेलु फुटबल लिगमा राम्रो प्रदर्शन गरेसँगै एकाएक तरङ्ग पैदा गर्न सफल लेवान्डोस्की सन् २०१० मा बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड प्रवेश गरेका थिए । डर्टमन्डमा रहँदा उनी, गोट्जे र रूएसको जोडी अति प्रभावकारी सावित भएको थियो । सन् २०१४ मा उनले बायर्नको बाटो तताएका थिए । यस सूचीका अधिकांश खेलाडीहरू जस्तै उनलाई पनि घातक फरवार्डका रुपमा हेर्न सकिन्छ । तर उनको पनि फर्म सन् २०२६ फिफा विश्वकपसम्म उस्तै रहन गाह्रो हुनेछ ।

६. लुइस स्वारेज
स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान अग्रपङ्क्ति खेलाडी मध्ये एकका रुपमा चिनिन्छ । स्वारेजले आफ्नो व्यावसायिक फुटबल खेल जीवनमा क्लब स्तरको ७ लिग, १ युएफा च्याम्पियन्स लिग र उरुग्वेकोबाट सन् २०११ म कोपा अमेरिका सहित १९ वटा मुख्य उपाधिहरू जितिसकेका छन् । ३५ वर्षिय स्वारेज सन् २०१० को विश्वकपमा डेब्यु गरेका थिए ।

 

७. करिम बेन्जेमा 
करिम बेन्जेमा फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् जो स्पेनी क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टोलीको लागि स्ट्राइकरको रूपमा खेल्ने गर्दछन् । खतरनाक युरोपेली स्ट्राइकरको रूपमा चिनिने बेन्जेमालाई डीबक्स क्षेत्रभित्र प्रभावशाली गोल गर्न सक्ने क्षमता भएको खेलाडी मानिन्छ । बेन्जेमा पनि उमेरले ३४ वर्ष पुगिसकेका छन् । उनका लागि पनि यो विश्वकप अन्तिम हुने सम्भावना प्रबल छ ।  

 

Logo