प्रचण्डप्रति ओलीको टिप्पणी- ‘आफ्नै गाउँमा टिक्न नसक्ने भएपछि भागेर गोरखा पुगे’

प्रचण्डप्रति ओलीको टिप्पणी- ‘आफ्नै गाउँमा टिक्न नसक्ने भएपछि भागेर गोरखा पुगे’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् । 

अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्क समेत गरे । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख समेत गरे । 

सशष्त्र द्वन्द्वका कारण पीडामा परेकाहरुलाई बेवास्ता गरेर आफ्ना परिवार र आफन्तको हितमा मात्रै प्रचण्ड लागि परेको अध्यक्ष ओलीको आरोप थियो ।

उनले भने- ‘देशमा १७ हजार मानिस मारिए । विदुवा छन् कति ? एकल छन कति ? टुहुराटुहुरी छन् कति ? बेसहारा बुबा, आमाहरु कति छन् कति ? सरिरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठ्न सक्ने अवस्था छैन । उनीहरुले आवधिक रुपमा उपचार गराईरहनु परेको छ । अनेक पिटाईका कारणले, यातनाका कारणले । अरु विभिन्न देशका इफेक्ट । तर, संचालन गर्ने नेता, तिनका परिवार, तिनका आफन्त मैले भनिरहन परेन । त्यस्ताका पछाडि नेपालभित्र मात्रै होइन्, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ । अव विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के ? त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि । विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ । यो कुराबाट सचेत गराएर ती साथीभाईलाई उठाउने कसले ? त्यसबाट उन्मक्ति दिने कसले ? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ ।’ 

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दावी समेत दोहो-याए । सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकीर समेत उनले गरे । 

उनले भने- ‘यो अहिलेको जुन गठबन्धन छ । रियल्ली डेथ । तर यो क–कल्ले पम्पिङ गरिराखेको छ । भेन्टिलेटर लगाई राखेको छ । सास फेरिराखेको छ । हिँडीराखेको छ । खाई पनि राखेको छ । पचाई पनि राखेको छ फेरी । यिनीहरुको मुख ६ तिर फर्केको छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु–छ तिर फर्केका छन । यिनको केही विचार छैन । तर चपाईको चपाएकै छ । अव यो मंसीर ४ को निर्वाचनले यसको बीचमा फैसला गर्नुपर्ने छ । अहिले मैले भनेको खन्चुवा गठबन्धन, भिजनहिन, गन्तव्यहिन, नीतिहिन, थितिहिन, विधिहिन यसले जनता देख्दैन । देशको किन्चित माया छैन । यो पहिल्यै मरिसक्यो । अब त्यस स्थितिबाट देशलाई बचाउनका लागि यो १६ महिनामा कंगाल पार्नेहरुले जनादेश पनि पाए भने, परमादेश होइन, जनादेशबाट पनि आयौं हामी भन्ने मौका पाएभने यिनले त कसरी लुट्छन होला । लखनउ लुट भनिन्थ्यो । त्यसमा त गहनामात्रे लुटिन्थे । सुन, चाँदी, हिरा, मोती मात्रै लुटिन्थ्यो । यिनले पर्दा, झ्याल, ढोका पनि फुटाउन लाग्दछन । यस्तो लुट हुन्छ । र, देश कंगाल हुन्छ ।’

यनले अगाडि थपे- ‘त्यसकारण देश बनाउने पार्टी नेकपा (एमाले) एउटा नेशनल फोर्सको रुपमा अव यो विभिन्न किसिमको टालाटुली बटुली होइन । एउटा स्ट्रङ नेशनल फोर्स । आज नेपाललाई चाहिएको भनेको बलियो राष्ट्रिय शक्ति हो । वीथ मिसन, वीथ भिसन, वीथ पोलिसिज, वीथ प्रोग्राम । एमाले एक्लै सरकार बनाउन सक्छ । बहुमत ल्याउन सक्छ । बहुमतको सरकार बनाउन सक्छ । तर यसको अर्थ हामी कसैलाई सरकारमा लिँदैनौं भन्ने होइन । तर नेकपा एमालेको अघि सारेको मिसन, भिजन कुनै पनि कुरामा तलमाथि नपर्ने गरी अरु पार्टीहरु पनि एमालेको सरकारमा सहभागी हुनेछन ।’
 
अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने योजना, नीति र कार्यक्रम आफ्नो पार्टीसँग मात्रै भएको भन्दै आगामी निर्वाचनमा नेपाली जनताले सरकार बनाउने गरी साथ दिनुपर्ने बताए ।

Logo