नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनीमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहो-याए ।
अध्यक्ष प्रचण्डले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उनको गम्भिर आरोप थियो ।
उनले भने- ‘महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो, ओनसरी घर्ती । त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । दुई वटा गठबन्धन छन् । हामी इमान्दार र खुला ढंगले भन्छौं । हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर, उनीहरु गठबन्धन भन्दैनन् । गर्छन गठबन्धन । उनीहरु राजावादी छन् । राजतन्त्र फर्काउने कुरा गर्छन् । उनीहरु भित्र अलगाववादी छन् । देशको एकता खलबल पार्ने कुरा गर्छन् । उनीहरु दक्षिणपन्थी छन् । संविधान मिच्ने र च्याप्ने कुरा गर्छन् । अनि, फेरी भोट माग्न जनता कहाँ आउँछन् । मैले धेरैतिर भन्ने गरेको छु–त्यसरी आउनेहरुलाई जनताले सोध्नुपर्छ –तपाईहरुलाई भोट किन चाहियो ? संविधान च्यात्न अघिल्लो पटक सकिएन दुई तिहाई हुँदा पनि । संविधान च्यात्नका लागि भोट दिनोस भन्न खोज्नु भएको हो ? यो प्रश्न सोध्नुपर्ने हुन्छ ।’
अध्यक्ष प्रचण्डले मंसीर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे ।
उनले भने- ‘प्रतिगमन परास्त गरेपछि यो ४ गतेको निर्वाचन आम नेपाली जनताको अगाडि एउटा अवसर प्रतिगमनलाई सदाका लागि परास्त गर्ने र यो देशलाई आर्थिक विकास र समृद्धिको युगतिर लैजाने अवसरको रुपमा आएको छ । अन्तिम न्यायाधीश जनता नै हो । जनताको हातमा फैसलामा अधिकार आएको छ । प्रतिगमनलाई, प्रतिक्रान्तिलाई यो देशमा ७० वर्ष जनताले लडेर प्राप्त गरेको हक, अधिकार खोस्न खोज्ने प्रवृत्तिलाई सदाको निम्ति परास्त गर्ने अवसर हो यो । त्यसकारण म तपाई काठमाडौं क्षेत्र नम्बर २ का जनतासँग र यो मञ्चबाट देशभरका जनतासँग पनि यो ऐतिहासिक अवसरको सदूपयोग गरौं । यसको सदूपयोग ग-यौं भने हामी फेरी प्रतिगमनको निम्ति आन्दोलन गर्नुपर्ने छैन । सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ । नेपाल आर्थिक क्रान्तितिर जानेछ ।’





























प्रतिक्रिया