जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन् भने कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेको छ ।
यहाँ दश निर्वाचन क्षेत्रको निर्वाचन नतिजा भए पनि एक निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया रोकिएको छ भने पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक निर्वाचनमा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली कांग्रेस बिपीका नेता कर्ण मल्ललाई पराजित गरे । विसं २०४८ यता डडेल्धुराबाट निरन्तर निर्वाचनमा जित्दै आएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई यस पटक सत्ता गठबन्धन दलको दरिलो साथसमेत थियो ।
त्यसैगरी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं सत्ता गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर कैलाली निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका छन् । पूर्वमन्त्रीसमेत रहेका बलायरले यसअघि २०७० सालको निर्वाचनमा डोटीबाट निर्वाचन जितेका थिए । विसं २०७४ मा तत्कालीन नेकपा एमालेका (हाल एकीकृत समाजवादी पार्टी) नेता प्रेम आलेसित पराजित भएका नेता बलायरले यस पटक भने सत्ता गठबन्धनका कारण कैलाली सर्नुपरेको थियो । निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री लेखराज भट्टलाई पराजित गर्दै बलायर निर्वाचित भएका हुन् ।
त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका नेता गङ्गाराम चौधरी निर्वाचित भएकाे सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए । उनका अनुसार चौधरीले सत्ता गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कृष्णकुमार चौधरीलाई पराजित गरेका छन् । कैलालीमा निर्वाचन क्षेत्र नं १, २ र ५ को गणना भइरहेको छ । त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका नेता साउदले नेकपा (एमाले) का नेता नरबहादुर धामीलाई पराजित गर्दै आफू निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा एमाले उम्मेदवार धामीसित पराजित गरेका कांग्रेस नेता साउद २०७० सालमा पनि निर्वाचित भएका थिए ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पनि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक फराकिलो मतान्तरले निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार निरुदेवी पाललाई पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लेखक यहाँबाट तेस्रो पटक निर्वाचित भएका हुन् ।
नेता लेखक २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार डा दीपकप्रकाश भट्टसित झिनो मतले पराजित भएका थिए । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अहिले निर्वाचन क्षेत्र नं १ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता बिना मगर जारी गणनामा पछि परेकी छन् । नेकपा (एमाले)का उम्मेदवार पूर्व प्रदेश सरकारका मन्त्रीसमेत रहेकी तारालामा तामाङले यहाँ सुरुवातदेखि अग्रता लिएकी छन् । निर्वाचन क्षेत्र नं १ मा यसअघि माओवादी केन्द्रकी नेत्री बिना मगर निर्वाचित भएकी थिइन् ।
त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको अछाममा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता एवं श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका छन् । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) बाट झपट बोहरा उम्मेदवार थिए । उक्त क्षेत्र नेकपा (एमाले)का नेता डा भीम रावलको क्षेत्र पनि हो । त्यसैगरी अछाम निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।
यहाँ कांग्रेस नेता शाहले एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गरी २३ वर्षपछि उक्त क्षेत्रमा कांग्रेसलाई विजयी बताए ।
त्यसैगरी डोटी र बझाङमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेताद्धय प्रेम आले र भानुभक्त जोशी निर्वाचित भएका छन् । डोटीमा पूर्वमन्त्री आलेले नेकपा (एमाले)का उम्मेदवार गौरी ओलीलाई पराजित गर्दै जितलाई निरन्तरता दिए । यसअघि पनि उनी डोटीबाटै निर्वाचित भएका थिए ।
यता बझाङमा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशीले नेकपा (एमाले) का उम्मेदवार युवा नेता ऐन महरलाई पराजित गरे।
त्यसैगरी सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू निर्वाचित भए । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका मन्त्री बडूले नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई पराजित भए ।
विसं २०७० मा एमाले नेता ठगुन्नासित नै पराजित भएका मन्त्री बडू विसं २०७४ मा भने समानुपातिक सांसद थिए । त्यसैगरी बैतडीमा प्रतिनिधिसभाको मतगणना जारी छ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुँवर र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच प्रतिस्प्रर्धा भइरहेको छ ।
त्यसैगरी सुदूरपश्चिमको विटक पहाडी जिल्ला बाजुरामा भने मतदानका दिन विभिन्न स्थानमा आक्रमणलगायत तनाव भएपछि मतदान प्रक्रिया नै अघि बढेको छैन । निर्वाचनको दिन यहाँ मतदानका क्रममा झडप हुँदा एक जनाको गोली प्रहार र अर्का एक युवकको कुटपिटबाट मृत्यु भएपछि चार दिनयता त्यहाँको अवस्था सामान्य हुनसकेको छैन ।
बाजुरामा पनि एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेय उम्मेदवार छन । नेकपा (एमाले)बाट पूर्वमन्त्री कर्ण थापा उम्मेदवार छन् ।





























प्रतिक्रिया