पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा आज मनाइएको छ ।
शुक्रवार पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो । चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमान ढोका पुगेका हुन् । उनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहणसमेत गरेका थिए ।
सो अवसरमा बोल्दै तारिणी मखन क्लवका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि शुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए । उनका अनुसार परापूर्वकालमा चाँगु नारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगु नारायणले मलाई अशुभ भयो अब म कतै जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ ।
उनले भने, ‘माटोको भाँडाकुँडा फुटाउने जात्रा लिच्छिवीकालदेखि शुरु भएको जात्रा हो । अहिले आएर यो जात्रा लोप भइसकेको छ । हाम्रो जात्रा, संस्कृति रहेसम्म देश रहन्छ । त्यो बेलामा चाँगु नारायण त्यहाँबाट घुम्न निस्किँदा हनुमान ढोका आइपुगेपछि यहाँका राजाले हाम्रो भगवान कहाँ जान लाग्नुभयो, अनिष्ट हुन्छ भनेर झाँक्री लगाइ हाँडी द्यौताको अघि फुटाएपछि मलाई अलच्छिन भयो अब जानु हुँदैन भनेर तलेजु भवानीको मन्दिरमा छिर्नुभएको थियो ।’
मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।





























प्रतिक्रिया