सुजुकीको एड्भेन्चर टुरर मोटरसाइकल भी-स्ट्रोम २५० नेपाली बजारमा पनि भित्रिने भएको छ ।
केही समयअघि भारतमा लन्च भएकाे उक्त नयाँ एड्भेन्चर मोटरसाइकल अवको केही महिनापछि नेपाल भित्र्याउने तयारी भएको आधिकारिक वितरक भीजी अटोमोवाइल स्रोतले जनाएको हो । यो एड्भेन्चर टुरर मोटरसाइकलमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।
कम्पनीका अनुसार यस नयाँ मोटरसाइकलमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यसमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट, उच्च पावरयुक्त एलइडी टेल लाइट जडानका साथै ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम उपलब्ध रहेको छ ।
यस एड्भेन्चर टुरर मोटरसाइकलमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिने कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा एड्भेन्चर सेग्मेन्टमा केटीएम २५० एड्भेन्चर मोटरसाइकल बिक्री भइरहेको छ । जससँग सुजुकी भी–स्ट्रोम २५० ले प्रतिस्पर्धा गर्ने देखिन्छ । भारतीय बजारमा केटीएम २५० सुजुकीको तुलनामा ३० हजार रुपैयाँले महंगो रहेको छ । हाल नेपाली बजारमा केटीएम २५० एड्भेन्चर ८ लाख १८ हजार रुपैयाँमा बिक्री भइरहेको छ । सुजुकी भी–स्ट्रोम २५० नेपालमा ८ लाखदेखि ८ लाख ५० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गरिएकाे छ ।





























प्रतिक्रिया