संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिको बैठकमा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष एवम सांसद सुवाष नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था गर्न उपयुक्त हुने बताएका हुन् ।
पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङले संकल्प प्रस्ताव संसदबाट पास गर्नुपर्ने कुरालाई पनि नियमावलीमा बाध्यकारी व्यवस्थाको रुपमा राख्नुपर्ने आवश्यक्ता औंल्याए ।
त्यस्तै, नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले मन्त्रीले संसदमा संकल्प प्रस्ताव ल्याउन आवश्यक नरहेको धारणा राखे । उनले सरकारलाई निर्देशन दिने काम संसदको भएकाले सांसदहरुले मात्रै संकल्प प्रस्ताव संसदमा राख्न उपयुक्त हुने तर्क समेत गरे ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले २०७४ सालको प्रतिनिधिसभा बैठकमा पेश गरिएको एउटा संकल्प प्रस्तावको सूचना संघीय संसद सचिवालयमा ४ महिनासम्म अड्किएको स्मरण गराउँदै त्यसलाई पास गराउने र कार्यान्वयन हुने सुनिश्चितता नियमावलीमै व्यवस्था गर्नुपर्ने बताए । उनले संकल्प प्रस्ताव अघि बढाउने कुरामा सभामुखको आदेश मात्रै पर्खेर बस्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको समेत बताए ।
सांसद यादवले संकल्प प्रस्तावलाई संसदमा पेश गरेपछि त्यसको कार्यान्वयन सरकारले गर्नैैपर्ने पनि बताए । गत माघ १० गते गठन गरिएको २१ सदस्यीय सो मस्यौदा समितिलाई १५ दिन भित्र मस्यौदा तयारी पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ ।





























प्रतिक्रिया