उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन् । निर्माण उद्योगको सकारात्मक सहयोगविना काम गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान दिन उनले निर्माण व्यवसायीको ध्यानाकर्षण गराए ।
“मन्त्रालयको पूँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले तीन वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुनेगरी काम गनुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णका बारेमा पहिल्यै भन्नुपर्छ”, मन्त्री श्रेष्ठले भने ।
मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राज्य एवं निर्माण व्यवसायी मिलेर काम गर्नुपर्नेमा जोड दिए।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले आयोजना सम्झौताका बेला दस्तावेजमा हस्ताक्षर गर्ने तर काम नगर्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्यका लागि यस किसिमको छलफल आयोजना गरिएको बताए ।





























प्रतिक्रिया