परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि प्रश्न उठाएकीछन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री पौडेलले मन्त्री परिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आईतवार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशन अनुसार आफू जान नपाएको बताएकी हुन् ।
मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोईरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । उनले कार्यकारीले नेतृत्व गर्ने टोलीमा विज्ञले नेतृत्व गरेको भन्दै त्यसको कानूनी वैधतामाथि प्रश्न उठाइन् ।
कोईरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ती गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको उनको भनाई छ ।
उनले नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्ने बताइन् । मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउनु नहुनेमा उनले जोड दिइन् ।
मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताइन् । उनले नबोलाएका विदेशी अधिकारीहरु नेपाल भ्रमणमा आउँदा देशको राजनीतिक वातावरण समेत खल्बल्लिने गरेको भन्दै उनीहरुको भेटहरुमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको बताइन् । यद्यपी राजनीतिक दलका नेताहरुले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेका बताइन् ।
त्यस्तै, मन्त्री पौडेलले विकास आयोजनाहरुमा विदेशी राष्ट्रहरुबाट आउने सहयोगमा पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने विषयमा पनि निर्णय गराइएको बताइन् । यसका निम्ति निगरानीको जरुरी रहेको उनको भनाई छ ।





























प्रतिक्रिया