काठमाडौं ।
नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधि कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही गरिएको टिप्पणी गरेका छन् ।
आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको उनले बताए । नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको बताए ।
नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए । उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए । यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको बताए ।
पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले बताए । ‘पार्टीलाई केही मान्छेहरुको एउटा आफ्नो नियन्त्रणको गठबन्धनको एउटा गुटको संगठन बनाउने जो बाटोमा उनीहरु गएका छन् त्यसले अहिले सफल भएको देखिएला तर यसले पार्टीलाई राम्रो गर्दैन ।’
कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गरे । उनले न्याय बिनाको निर्णयको विरुद्ध, प्रवृतिको विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दा सम्म कांग्रेस जोगिन नसक्ने बताए । अहिले नै आवाज उठाउन नसक्ने हो भने केही व्यक्तिको गुटको भेलाले कार्यकर्तालाई बगाएर लैजाने समेत नेता जोशीले बताए ।
पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पस्ट भएको समेत नेता जोशीले बताए । उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाए पनि भोट नहाल्न निर्देशन दिने गरिएको बताए ।
पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोही पनि नभएको दावि नेता जोशीले गरे । उनले कांग्रेसमा योगदान पु¥याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफूमाथि रहेका समेत बताए । उनले आफू पार्टीमा कुनै पनि तरिकाले चाकडि गर्न नजाने समेत स्पस्ट पारे । पार्टी नेतृत्वसँग कुण्ठाको विकास भएकाले इमान्दार कार्यकर्तामाथि कारबाही भएको बताए ।
फरक प्रसङ्गमा बहुदलिय अभ्यासमा दलको सरकार हुने तर दुर्भाग्यवस अहिले कुनै पनि दलले राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत नेता जोशीले गरे । प्रजातन्त्रमा प्रमुख प्रतिपक्षी अराजक भयो भने सरकार गैरजिम्मेवार हुने र प्रतिपक्ष जिम्मेवार भयो भने सरकार नियन्त्रणमा हुने तर अहिले प्रतिपक्षको भूमिका नै नदेखिएको उनले बताए । कांग्रेसले सत्तारुढ दल रिसाउँछ भनेर प्रतिपक्षको भूमिका खेल्न नसकेकोले सरकार स्वेच्छाचारी भएको बताए ।





























प्रतिक्रिया