काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिका कारण चितवनको कुसुम खोलामा घटना भएको बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण चेपाङ वस्तीमा घर जल्न पुगेको बताएका हुन् ।
मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तीमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनको भनाइ छ । भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारीहरुले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय भएको समेत मन्त्री बस्नेतले बताए ।
उनले घटनाको छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको समितिलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ती ढाकछोप नगर्ने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफुू गम्भीर रहेको बताए
त्यस्तै समितिले उक्त घटनालाई संवेदनशिल भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषीमाथि हदैसम्मको सजाय दिई पीडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिइन् ।
समितिले समाजिक वञ्चितिकरणमा रहेका र निकुञ्जलाई नै आफ्नो जीवन धान्ने आधार बनाउँदै आएका निकुञ्ज वरपर बस्ने स्थानीयबासीको व्यवस्थापन ६ महिना भित्र गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।





























प्रतिक्रिया