सभापति देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको नेता सिंहको टिप्पणी (भिडियाेसहित)

सभापति देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको नेता सिंहको टिप्पणी (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् ।

तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताएका हुन् । पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए ।

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए । उनले पार्टी प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे । महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए । पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए ।

उनले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेकोे बताए । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उनले बताए । उनले भने, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दा अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनु पर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’ नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनु परेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताए ।

२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलमा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुरावस्थामा पुगेको बताए । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको औचित्य नरहेको बताए । उनले राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको बताए ।

Logo