श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ -शेखर कोइराला

श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ -शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले भने– “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिए ।   

आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्दै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताए । 

संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उनले जोड दिए ।  यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो । 
 
“मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्”,  डा कोइरालाले भने, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन्, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।”  

हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताए । 

Logo