राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जारी उपनिर्वाचनमा आफ्नो पार्टीले कसैसँग तालमेल नगरेको प्रष्ट्याएका छन् ।
ठूला पार्टीका केही नेताहरूले फेक न्युजको कारखाना चलाएर रास्वपाले तालमेल गरेको भन्दै मतदातामा भ्रम छर्न खोजेकोमा आक्रोश पोख्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछानेले मतदानका दिन बिहानै यस्तो बताएका हुन् ।
‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहुँ र चितवन तीनै ठाउँमा भोट घण्टी लाई नै हो । ठूला पार्टीका ठुला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्।’ आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
साथै सभापति लामिछानेले गलत सूचनाको पछाडी नलागि निर्वाध रुपमा समयमै मतदानस्थलमा पुगेर मतदान गर्न पनि मतदाता समक्ष आग्रह गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । मुख्य प्रतिस्पर्धामा रास्वपाबाट लामिछानेसहित नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने छन् । तर, उम्मेदवार लामिछाने र न्यौपानेले भने सो क्षेत्रमा आफूलाई मतदान गर्न पाउने छैनन् । लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेकाे र न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मत हाल्न नपाउने भएका हुन् ।





























प्रतिक्रिया