उभौली पर्वको उत्साह कोशी प्रदेश नामकरणको विरोधमा बदलिएपछि…

उभौली पर्वको उत्साह कोशी प्रदेश नामकरणको विरोधमा बदलिएपछि…

केन्द्रबिन्दु
0
Shares

किराँत समुदायले आज हर्ष उत्साहका साथ उभौली पर्व मनाइरहेका छन् । तर यो पर्व काठमाडौंमा भने प्रदेश १ को नामाकरणसंग पनि जोडिन पुगेको छ । उभौली पर्वलाई काठमाडौंमा रहेका कतिपय किराँत समुदाय तथा संगठनले कोशी प्रदेशको नामाकरणको विरोधसंग जोडेर मनाएका छन् ।      

काठमाडौंको नयाँ वानेश्वरमा भेला भएका किराँती समुदायहरुले उभौली पर्व हर्ष उत्साहका साथ मनाउँदै प्रदेश नं. १ को नामाकरणको विरोध गरेका छन् । उनीहरुले कोशी प्रदेश भनेर राखिएको नाम  खारेज गर भन्ने नारा लगाउँदै ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनः नामांकन गर्न माग गर्दै पर्वलाई पनि प्रदर्शनमा बदलेका छन् । 

उक्त प्रदर्शनमा किराँत याक्थुङ् चम्लुङ्का संघीय अध्यक्ष प्रेम एक्तेनले प्रदेश नम्बर १ को नाम खारेज गरेर पुनः नामाकरण गर्न आग्रह गरे । त्यहाँ रहेको सम्पदा र संस्कृतिको आधारमा नयाँ नाम राख्नुपर्ने माग उनको छ । उनले प्रदेश नं १ बाट उठेको आवाजले विद्रोहको रुप लिदैँ गएको भन्दै यसलाई सरकारले छिटो भन्दा छिटो सम्बोधन गर्न आवश्यक भएको बताए ।  

उनले भने, ‘प्रदेश नम्बर १ लाई कोशी भनेर जुन नामाकरण गरियो त्यो खारेजी गर्नुपर्छ , उनले त्यहाँ विद्यमान सम्पदा र संस्कृतिको आधारमा नाम राख्नुपर्ने जिकिर गरे । राज्यलाई आफ्नो आवाज सडकबाट दिउ भनेर आज यहाँबाट आफ्नो आवाज उठाएका हौ । प्रदेश नं १ बाट उठेको आवाजले विद्रोहको रुप लिदैँ छ यसलाई सरकारले छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्छ । नगरे शान्ति आउने अवस्था छैन् । कोशी नाम खारेज गर्नुप-र्यो ।’ 

यसको साथै किराँत समाज ललितपुरका निवर्तमान अध्यक्ष राम बोखिम लिम्बूले चुनावको समयमा पहिचानको आधारमा नामाकरण गर्ने प्रतिवद्धता जनाए पनि अहिले जबर्जस्ती कोशी नाम राखेको आरोप लगाए । उनले प्रदेश १ को नाम लिम्बुवान किराँत राख्नु पर्ने भन्दै माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए । 

उनले भने, ‘कोशी भनेर राखिएको नाम हामी मान्दैनौँ, हामीले यसको माग पनि गरेको थिएनौ, पहिचानको आधारमा नामाकरण हुनुपर्ने हाम्रो माग हो ।  भोट माग्दा कोशी दिन्छौ भनेको पनि थिएन् । पहिचानको आधारमा नाम दिने भनेर भोट मागेका थिए । कोशी प्रदेश भनेर खारेज हुनैपर्छ लिम्बूवान किराँत प्रदेश भनेर नाम राखिनु पर्छ । हाम्रो माग सम्बोधन नभएसम्म हाम्रो आन्दोलन रोकिदैन ।’ 

कार्यक्रममा सहभागी अर्का अगुवा एवं पूर्व मन्त्री गोपाल किराँतीले भने उभौली पर्वको चर्चा गर्दै किराँत समुदायमा यस्को महत्व विशिष्ट रहेको बताए । उनले जंगली युगबाट किसान युगमा प्रवेश गर्दै गरेको घटनाको सम्झनाको रुपमा यसलाई मुख्य चाड मानेर बैशाख पूर्णिमाको दिन मनाइने बताए । 

Logo