लकडाउनपछि निजी सवारीसाधन किन्नेलाई अफरै अफर, कुन कम्पनीको कस्तो ? (भिडियोसहित)

लकडाउनपछि निजी सवारीसाधन किन्नेलाई अफरै अफर, कुन कम्पनीको कस्तो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

करिब सात महिना अगाडी चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) यतिबेला विश्वभरी नै फैलिएको छ । यसको प्रभावले विश्व मानव समुदाय तथा विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसको नियन्त्रण तथा रोकथामको लागि करिव चार महिनादेखि विश्व नै लकडाउनमा रहेको छ । लकडाउनले विश्वभरका उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प रहेको थियो । यसले गर्दा विश्व अर्थतन्त्र समेत तहसनहस भएको छ ।

तर पछिल्लो केहि समयदेखि अधिकांश मुलुकले लकडाउनलाई खुकुलो बनाएर मानिसको दैनिक जनजीवन सहज बनाएका छन् । विभिन्न देशले उद्योगधन्दा लगायत बजार खुल्ला गरेका छन् । यो महामारीबाट नेपाल पनि अछुतो छैन । तर सरकारले लकडाउनलाई खुकुलो बनाएर केहि सहज बनाएको छ । यसले गर्दा अहिले केहि आर्थिक गतिविधि सुरु भएको छ ।

यसरी नेपालमा पनि लकडाउन सहज भएसँगै आर्थिक गतिविधि हुने क्षेत्र सार्वजानिक सवारीसाधन बाहेक उद्योग, कलकारखाना, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । यसरी लकडाउन सहज भएसँगै निजी सवारी साधन किन्न चाहनेहरुको लागि भने विभिन्न कम्पनीहरुले अफरै अफर ल्याएका छन् । यसरी व्यवसायीहरुले निजी सवारीसाधन विशेष अफर दिएसँगै बिक्री पनि बढ्न थालेको छ ।

लकडाउन खुकुलो भएसँगै निजी सवारीसाधन बिक्रि सुरु भएको दुई साता अगाडी देखि अटोमोवाइल क्षेत्र चलायमान देखिन थालेको नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा) ले जनाएको छ । बजार सञ्चालनमा आएसँगै असार १ गते देखि निजी सवारीसाधनहरु बिक्रि हुन थालेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनका अनुसार तीन महिनासम्मको लकडाउनले थला परेको अटोमोवाइल क्षेत्र लकडाउन सहज भएपछि सवारी साधनहरुको बिक्री बढ्न थालेको छ । उनले भने, ‘ लकडाउन पछि बजारमा सबैभन्दा बढी दुई पाँग्रे सवारी साधनहरुको बिक्रिसँगै थोरै भए पनि चार पाङग्रे सवारीसाधन पनि बिक्री सुरु भएको छ ।’

सरकारले लकडाउन सहज बनाएर बजार सञ्चालनमा आएको भए पनि सबैभन्दा बढी प्रयोगमा सर्वसाधरणहरुले प्रयोग गर्ने सार्वजनिक सवारी साधनहरु नचल्दा उपभोक्ताहरुको निजी सवारी साधनमा आर्कषण बढेको उनको भनाइ छ । असार १ गतेदेखि सरकारले लकडाउन सहज पार्दै जोर-विजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो लकडाउनको मोडालिटीलाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारले निर्णय गरेको छ । त्यस अनुसार अझै सार्वजनिक सवारी साधनहरु चल्न नपाएको अवस्थामा नै अटो व्यवसायीहरुले निजी सवारीसाधन किन्नेहरुको लागी भारी अफर ल्याउन थालेका छन् ।

अटो व्यवसायीहरुले तत्काल थोरै रकम तिरेर पनि सवारी खरिद गर्न सक्ने गरी विशेष अफर ल्याएका छन् । उनीहरुले कोरोना भाइरसको प्रभावले लामो समय व्यापार बन्द भए पनि नयाँ गाडी किन्ने उपभोक्तालाई फाइनान्सको सुविधा सहित विभिन्न अफर ल्याएका हुन् । यो अफर अन्र्तगत नयाँ सवारी साधन खरिदमा नगद छुट, डाउन पेमेन्ट र मासिक किस्तामा सहजता, बीमा शूल्क र सडक दस्तुरमा समेत छुट पाउने व्यवस्था छ ।

सार्वजनिक सवारी साधनहरु अझै खुल्ला नभएको अवस्थाले गर्दा दुई पाङग्रे निजी सवारी साधन खरिद गर्नेहरु बढेको व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार असारपछि एक शो रुमबाट मात्रै करिब ५० वटा सवारी साधनहरु बिक्री भएका छन् ।

कुन कम्पनीले ल्याए सवारी खरिदमा छुटको अफर ?

लकडाउन भएको तीन महिनापछि सञ्चालनमा आएको अटो मोवाइल क्षेत्र अहिले चलायनमा भएको छ । यसरी चलायमान भएपछि अटो मोवाइल कम्पनीहरुले सवारी खरिद गर्ने उपभोक्ताहरुलाई खरिद शुल्कदेखि अन्य धेरै कुरामा विशेष छुटको व्यवस्था गरेको छ ।

बजार सहज भएपछि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विज्ञप्ति निकालेर नै हुण्डाइका गाडी बिक्रीमा विशेष प्याकेज ल्याएको छ । यो प्याकेज अनुसार ग्राहकले हुण्डाइ कम्पनीका गाडी खरिद गरेको पहिलो वर्षको बैंक किस्ता ५० प्रतिशत कम्पनीले दिने भएको छ । त्यस्तै, यो बाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, निःशुल्क सडक कर, स्पट एक्सचेन्ज र सरल फाइनान्सको व्यवस्था रहेको छ । कम्पनीका अनुसार कोभिड–१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघि बढ्न र हौसला प्रदान गर्न यस्ता विशेष प्याकेज ल्याएको जनाएको छ ।

कम्पनीहरुले दुई पाङग्रे सवारीसँगै चारपांग्रे गाडी बिक्रेता कम्पनीले आकर्षक अफर ल्याउन थालेका छन् । सवारीसाधन बिक्री हुने पिक सिजनमा कोरोनाले कारोबार अस्तव्यस्त पारेपछि कम्पनीले अफर ल्याउन थालेका हुन् ।

त्यस्तै, टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकलमा अधिकतम दुई लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ । कोरोनाको प्रभावले लकडाउनको समयमा अग्रपङ्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई मध्यनजर गर्दै थप ५० हजार रुपैयाँ छुटको व्यवस्थासहित अनलाइनमार्फत गाडी बुकिङ गर्दा एक वर्षसम्म निःशुल्क सर्भिसिङ र निःशुल्क मोबिल र आयल फिल्टर लगायत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्त, फक्सवागन गाडीको अधिकृत बिक्रेता पूजा इन्टरनेशनलले हजार सीसीको पोलो ट्रेण्डलाइन खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याएको छ । ग्राहकले २९ लाख ४५ हजार रुपैयाँ पर्ने यो गाडी अहिले ५० प्रतिशत डाउनपेमेन्ट तिरेर एक वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, सुजुकी गाडीको अधिकृत बिक्रेता सिजी मोर्टसले पनि मुलुकभर रहेका डिलर खुलेपछि मात्र ग्राहक लक्षित आकर्षक अफरहरू सार्वजनिक गर्ने योजना बनाएको छ ।

अटो मोवाइल व्यवसायीहरुको सङगठन नाडाले नेपाल राष्ट्र बैंकलाई सवारी साधनमा प्रवाह हुने कर्जाको सीमा ९० प्रतिशत पुर्याउने व्यवस्था मिलाउन सुझाव समेत दिएको छ । नाडाले राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको मौद्रिक नीतिमा उक्त व्यवस्था गर्न सुझाव दिएको हो । त्यस व्यवस्थाबाट सवारी साधन खरिद गर्न चाहनेहरूका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउनुका साथै राजश्व संकलनमा वृद्धि भएर अर्थतन्त्र चलायमान हुने नाडाले जनाएको छ ।

Logo