काठमाडौं ।
कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जीत निकालेका छन् ।
कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेटको जीत निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ ।
मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजीत रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धशतक बनाउन एक रनले चुके । राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कंडेलबाट क्याच भए । बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाम लेखाउँदा सुवास भण्डारीले १ विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए । विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए । यस बाहेकका खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङ तर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २÷२ विकेट निकाल्दा एक विकेट रबीन्द्र शाहीको नाममा रह्यो ।
जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौथो स्थानमा रहेको छ ।
२ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२.२ ओभरमा समेटिँदा मात्र १ सय ८० रन जोड्न सक्यो । अन्तिम विकेटका लागि विवेक यादवले बिस्फोटक ब्याटिङ गर्दै अर्थसकीय इनिङ खेले पनि प्रदेश–२ का लागि पर्याप्त भएन । ४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस अघि ओपनरद्वय सुधिर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो । सुधिरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब अलामले ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन् ।
प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पार्दा बिक्रम भुसाल र दिपेन्द्र राउतले दुई/दुई तथा अमित तामाङ र कृष्ण कार्कीले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।
यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान गर्दा सौरभले ५६ रनको व्यत्तिगत स्कोर बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे । बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले ३ विकेट लिए भने दिब्यान्सु मल्लिकले २ विकेट हात पारे । अन्य तीन बलरको नाममा एक एक विकेट रह्यो । पहिलो जित निकालेको लुम्बिनी समूह ‘बी’ तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित प्रदेश २ तालिकामा अंक विहिन छ ।
प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।





























प्रतिक्रिया