काठमाडौं । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अनलाइन सञ्चार माध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक भएको बताएका छन् । सोमबार सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । अहिले प्रतिदिन एक अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने गरेको मन्त्री खतिवडाको भनाइ छ ।
प्रवक्ता डा. खतिवडाले भने–‘एक दिनमा एउटा अनलाइन दर्ता हुने रहेछ । कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो कि, गुणस्तर ? विषयवस्तुको कति गहिराईमा जाने । कि संख्या मात्रै बढाउने ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’
त्यस्तै प्रवक्ता खतिवडाले कोरोना संक्रमणका कारण सञ्चार माध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको जानकारी दिए । साथै, उनले सञ्चार माध्यमलाई सरकारले सक्दो सहयोग गर्ने पनि बताए । बैंकहरुबाट ऋण लिएर सञ्चालन भएका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको जस्तै सुविधा उपलब्ध हुने मन्त्री खतिवडाको भनाइ छ ।





























प्रतिक्रिया