जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गरेरै छाड्छाैँः उपप्रधानमन्त्री खड्का

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गरेरै छाड्छाैँः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए । 

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए । उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए ।  

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए । उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए । 

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो ।

पूर्वी सुर्खेतका लेकबँेसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पु-याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए । 

Logo