कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।
नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज आयोजित कार्यक्रममा मन्त्री भुसालले भने, “कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ ।” नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उनले बाँझो जमिनमा घाँस उत्पादन गर्न सकिने बताए ।
नेपाली कृषिजन्य उत्पादन बढाएर निर्यातका लागि विभिन्न अवसरको खोजी गर्नुपर्ने उनको भनाइ थियो । सन् २००१ मै नेपाल र चीनबीच कृषिमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको स्मरण गर्दै उनले त्यसयताका दिनमा सहयोग आदानप्रदान हुँदै आएको बताए । यहाँ उत्पादित पशुआहारलाई चीन पठाउने विषयमा सन् २०२२ मै सम्झौता भएको उनले स्मरण गराए । चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै मन्त्री भुसालले आगामी दिनमा अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी प्रकट गरे । गुणस्तरीय उत्पादनमा जोड दिँदै उनले चिनियाँ बजार ठूलो भएकाले उत्पादन बढाउन सुझाव दिए । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उनको भनाइ छ ।





























प्रतिक्रिया