ललितपुर ।
काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।
बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेको जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्ष जस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नु हुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घच्घच्याइरहेका थिए । अहिले रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न यहाँका धार्मिक सङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् ।
गुठी संस्थान ललितपुर शाखाले बन्दाबन्दी पहिले नै रथ निर्माणका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको थियो । त्यही सामग्रीबाट अहिले सामाजिक दूरी कायम गरी असार १० बाट रथ निर्माणको काम थालिएको शाखाका प्रमुख राजन भुजुले बताए । उनले भने, “ललितपुर महानगरपालिका, ज्यापु समाज, रथ निर्माणसँग सम्बन्धित व्यक्ति, धार्मिक सङ्घसंस्था र मच्छिन्द्रनाथका पुजारीले पटकपटक आग्रह गरेपछि यस कामलाई अघि बढाएका हौं ।”
रथ निर्माणमा संलग्न हुने व्यक्ति र समुदायको स्वास्थ्यलाई ध्यानमा राखिएको उनले बताए। अहिले मिननाथको रथ निर्माणका लागि धमाधम काम भइरहेको छ । उनले भने, “एकादशीको दिनबाट मीननाथको रथ निर्माण कार्य शुरु भइसकेको छ ।”
वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि सो दिन गर्न नसकिएकाले राम्रो दिन हेरेर रथारोहण गर्न लागिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए। गत १० गते रथ बनाउन लागिएकामा दुई सातामा सकिएपछि असार २४ गते रथारोहण गर्ने तयारी गरिएको छ । साइत गइसकेकाले पनि विधिपूर्वक अर्को साइत हेर्नेभन्दा पनि राम्रो दिनमा गर्न लागिएको हो । जात्राका अवधिमा विधिपूर्वक मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा बसेर साइत हेरिन्छ । यो पटक त्यसरी हेर्नु नपर्ने उनको भनाइ छ । जात्राका विधि पुर्याएर तथा भीड कम गरेर सम्पन्न गर्न सकिने उनले बताए।
बन्दाबन्दी खुकुलो भएपछि जात्रा चलाउने योजना अघि बढाएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए। जात्राको तयारीमा लाग्ने व्यक्तिको स्वास्थ्यलाई ख्याल गरिएको उनले बताए । जीवनको सातदशक नाघेका कपिल बज्राचार्य मूल पुजारीका रुपमा रहेका छन् । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उनको मन दुखेको थियो । उनले २२÷२३ वर्षको उमेरदेखि नै मच्छिन्द्रनाथको पुजारीका रूपमा देवताको सेवा गर्दै आएका छन् । विगतमा पनि धेरै वर्षमा अप्ठ्यारो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उनको अनुभव छ ।
अहिले महामारीका समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उनको भनाइ छ । वि.सं. २०७२ मा भूकम्पका कारण घर भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उनले बताए । उनले भने, “देवताको प्रभावले अहिले सङ्कट पनि हट्नेछ, देवताको जात्रा रोक्नु राम्रो हुँदैन ।”
विगत २० वर्ष अघिदेखि मच्छिन्द्रनाथ रथ निर्माणमा लागि परेका हाल ८३ वर्षीय आशालाल महर्जनले यस वर्ष कोरोनाका कारण समयमै जात्रा मनाउन नपाउँदा नरमाइलो लागेको बताए। ढिलै भए पनि जात्राको तयारी शुरु भएकाले उनी दङ्ग छन् । बन्दाबन्दी खुकुलो भएसँगै रथ निर्माण थालिएकामा उनले आफूले सक्दो सहयोग गर्दै आएका छन् । यस्तै चारदशक पहिलेदेखि सो काममा लागि परेका ८१ वर्षीय सिद्धिबहादुर महर्जनले रथ निर्माणको काम अघि बढेसँगै संस्कार र संस्कृति अघि बढ्ने भएकाले आफूलाई खुशी लागेको बताए ।
दुईदशक पहिलेदेखि यससँग सम्बन्धित काम गर्दै आएका ५६ वर्षीय रामेश्वर महर्जन ढिलै भए पनि जात्राको तयारी भएकामा खुशी छन् । उनले हजुरबुवाले रथ निर्माण गरेकाले त्यतिबेलाबाटै काम सिकेका थिए । रथ बनाउन १२ जना ञँवाल, ३० जना सहायक ञँवाल र २४ जना गुठियार सहभागी हुने ७० वर्षीय ञँवाल सूर्यमान डङ्गोलले बताए। रथ निर्माण झण्डै १५ दिनमा सकिने अनुमान गरिन्छ । उनले भने, “अहिले दिनहुँ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम भइरहेको छ ।”
रातो मच्छिन्द्रनाथको रथारोहण वैशाखमै हुन नसकेपछि अहिले देवतालाई तःबहालस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा राखिएको छ । रातो मच्छिन्द्रनाथलाई रथारोहण गर्नु अघि दशकर्म सकिएको छ । तबहालमा रहँदा दशकर्म सकाएर वर्षेनी वैशाख शुक्ल प्रतिपदाका दिन बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराइन्थ्यो । यस वर्ष कोभिड–१९ को सङ्क्रमण कम गर्न सरकारले जारी राखेको बन्दबन्दीले रथारोहण र रथयात्रा हुन सकेको थिएन ।
यस्तो छ किंवदन्ती
किंवदन्ती अनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पर्ने नागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनलाई मनाउन सकिने र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्रसमेत मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए ।
सोही अनुरुप आसाम कामारुकामाक्षमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोही अनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरू बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।
समाधान केही गरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जस अनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नून थियो भनी जानकारी दिइयो । नूनको सोझो गर्नै पर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नु पर्ने निर्णय गरिदिए ।
मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनःसहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आइएको छ । जात्राका प्रभावले जस्तोसुकै कठिन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ । भक्तपुरका राजा र काठमाडौँका गुरुले मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथ यात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितका नाममा रथ तान्ने गर्दछन् ।
पहिले पहिले जात्रामा उपत्यकाका तीनै जिल्लावासीको संलग्नता हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाःबहालबाट सुन्धारासम्म काठमाडौँवासीको । निकै पहिलेदेखि नै भक्तपुरवासी र काठमाडौँवासीले रथ तान्न आउन छाडिसकेका छन् । सुन्धाराबाट लगनखेलसम्म पाटनवासीले तान्ने गरेका थिए । एकदशक यता रथ तान्ने काम ज्यापु समाज यलले गर्दै आएको छ । रथयात्रा पुल्चोकबाट शुरु भई गाःबहाल, मङ्गलबजार, थट्टीटोल, लगनखेल हुँदै जावलाखेल पुर्याइन्छ । जावलाखेल पुर्याएको चौथो दिन साइत अनुसार भोटो देखाउने जात्रा हुन्छ । राष्ट्रप्रमुख समक्ष भोटो देखाउने कार्य सम्पन्न भएपछि जात्रा पनि सकिएको मानिन्छ ।रासस





























प्रतिक्रिया