नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ।
नेपालमा यस वर्षको बैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्यासित रुपमा १७ करोडमाथिको कमाई गर्याे।
त्यसपछि सबैभन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन्।
अगस्टको अन्तिमसाता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकाँस सहरमा देखाईने गीतकार वाग्लेले जानकारी दिए। उनले भने,‘हामीले अधिकाँस सहरमा प्रदर्शन तय गरिसकेका छौँ। नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिनेछौँ।’ चलचित्रको टिमले नेपालमा दर्शकमार्फत् सकारात्मक प्रतिक्रिया बटुलेको थियो। फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिए।
उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ। भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा ओक्टोबर १ मा प्रदर्शन तय भएको छ।
यस्तै, टोरोन्टो क्यानाडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदैछ। यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकरी दिए।
अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ। सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ। यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्नुभएकी अभिनेत्री कार्कीले सर्वत्र प्रसंशा बटुलेकी छिन्।
‘नेपालमा पाइरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा आइरहेको थियो। अहिले हामीले सोही अनुसार प्रदर्शन तय गरिरहेका छौँ’, गीतकार वाग्लेले भने। उनले अमेरिकाका केहि स्थानमा वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टसँगको सहकार्यमा समेत प्रदर्शन गरिने जानकारी दिए।
स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो। ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन,सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ।





























प्रतिक्रिया