‘युवा परिषद्ले देशभरका १० लाख युवालाई स्वरोजगार बनाउने योजना बनाएको छ’ : माधव ढुङ्गेल (भिडियोसहित)

‘युवा परिषद्ले देशभरका १० लाख युवालाई स्वरोजगार बनाउने योजना बनाएको छ’ : माधव ढुङ्गेल (भिडियोसहित)

केन्द्रबिन्दु
3
Shares

काठमाडौं ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले परिषद्लाई युवा सूचना केन्द्रको रुपमा विकास गरी १० लाख बेरोजगार युवालाई स्वरोजगार बनाउने योजना रहेको बताएका छन् ।

उनले लाखौ युवा बेरोजगार भएर वैदेशिक रोजगारीमा जाने गरेकाले त्यस्ता युवालाई परिषद्ले काउन्सेलिङ गरेर नेपालमा नै उद्यमी बनाउने गरी अघि बढेको बताए । परिषद्लाई अब युवाको लागि सरकारले गरेका हरेक योजनाको सूचना प्रवाह गर्ने गरी सूचना हबका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । उनका अनुसार युवाले कस्तो किसिमको उद्यम गर्न चाहन्छन । उनीहरुलाई युवा परिषद् मार्फत काउन्सेलिङ गराएर उद्यमी बनाउने र उद्यमी बन्न चाहने युवालाई बैंकमार्फत कर्जा उपलब्ध गराउने गरेको छ ।

परिषद्ले सरकारले युवा लक्षित गरेर ल्याएका योजना, सेवा, सुविधा र आवश्यक कार्यविधिबारे अन्योलमा रहेका युवालाई सहजकर्ताको भूमिका खेल्ने मूख्य काम गरेको छ । उनले देशभरका बेरोजगार युवाकोे डाटा सङ्कलन गर्ने र उनीहरुलाई उद्यमशिलताको तालिम दिने, काउन्सेलिङ गर्ने आवश्यकता परेको ठाउँमा त्यस्ता युवालाई परिचालन गर्ने र युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए ।

नेपाल सरकारसँग युवा क्षेत्रमा समर्पित ठूलो बजेट रहेकाले त्यसको खोजी गरेर युवा र अवसरलाई पुलको रुपमा परिषद्ले काम गर्ने उनको भनाइ रहेको छ । गत जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुङगेललाई दोस्रो कार्यकालको रुपमा कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी ०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए ।

यसै विषयमा केन्द्रीत रहेर केन्द्रबिन्दुले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी यो भिडियोमा :

Logo