राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाका रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
ठूला दलहरूले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उनले अब राजसंस्थालाई अभिभावकीय भूमिका दिनेगरी अघि बढ्नुपर्ने बताए।
बुधबार काठमाडौंमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकका लागि हितकर हुने धारणा राखे। 'जनताको अधिकारका लागि हो भने संघीयताप्रति आपत्ति छैन। यो मुलुकका लागि भारी हुनु भएन। जनप्रतिनिधिको संख्यामा भारी मात्रामा कटौती गर्नुपर्छ,' उनले भने।
जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ। उनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराए।
गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकता खलबल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनको चेतावनी दिए।





























प्रतिक्रिया