नर्सरी सञ्चालन गरेर उत्पादन गरेको फलफूलको बिरुवा बेचेर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ काफ्लेडीका लक्ष्मी घिमिरे दाहालले वार्षिक लाखौँ आम्दानी गर्दै आएकी छन्।
विगत चार वर्षदेखि घर नजिकै सञ्चालन गर्दै आएको नर्सरीमा सबैखाले बिरुवा गरी वर्षको रु. १५लाख देखि रु. २० लाखसम्मको बिरुवा बिक्री हुँदै आएको उनले बताइन्।
‘शुविहान एग्रो नर्सरी’ सञ्चालन गरेर दाहालले विभिन्न जातका फलफूलका बिरुवा उत्पादन र बिक्री गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आएकी छन्।
तीन रोपनी जमिनमा फैलिएको नर्सरीमा किबी, कागती, सुन्तला, जुनार, आँप, लिची, केरा र कफीको बिरुवा उत्पादन हुँदै आएको उनको भनाइ थियो।
थोरै लगानीबाट सुरु गरिएको व्यवसायमा करिब रु. २५ लाखसम्म लगानी गरेर मौसमी रूपमा अरुलाईसमेत रोजगार दिँदै आएकी उनले मेहनत गरे कृषिबाट धेरै आम्दानी लिन सकिने बताइन्।
“यहाँ उत्पादन भएका विभिन्न जातका फलफूलका बिरुवा काभ्रेपलान्चोकलगायत नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र पूर्वी जिल्ला खोटाङ र ताप्लेजुङसम्म पनि बिक्री हुने गरेको छ।” उनले भने,“नर्सरीमा उत्पादन भएको बिरुवा बिक्री भएन भन्ने चिन्ता लिनुपर्दैन,ठाउँ ठाउँबाट लिन आउने गरेका छन्।”
विशेष गरेर अमिलो जातको फलफूलको बिरुवा उत्पादन गर्दै आएको नर्सरीमा केरा र कफीको बिरुवासमेत उत्पादन गर्ने गरेको उनले बताइन्। पछिल्लो समयमा उत्पादन हुने बिरुवा सिधै किसानले भन्दा पनि पालिकाले उठाउने गरेको सञ्चालक दाहालको भनाइ थियो। नर्सरीमा निरन्तर काम गर्न एक जनालाई रोजगार दिइएकी छन्।
जेटिए अध्ययन गरेकी उनले नर्सरी स्थापना गरी मनग्य आम्दानी गर्दै आएकी हुन्। कामदारसँगै दैनिक नर्सरीमा उनलाई ससुरा बुबा मोहनमणि दाहालले व्यवस्थापनमा सहयोग गर्दै आएकी फुर्सदको समयमा श्रीमान्ले पनि सहयोग गर्दै आएको उनले बताइन्।
किसानले थोरै थोरै मात्रमा खरिद गर्ने र पालिकाले एक पटकमा धेरै मात्रामा खरिद गरेर लाने भएकाले एकै पटक बिक्री गर्न पाउँदा सजिलो पनि हुने दाहालले बताइन्। नर्सरीमा धेरै मात्रमा कागती र कफीको बिरुवा बिक्री हुने गरेको छ। त्यससँगै मेकाडेमियानट लगायतको बिरुवा पनि बिक्री हुने गरेको छ।































प्रतिक्रिया