नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन निर्धारित समयमा नै हुने

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन निर्धारित समयमा नै हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन पूर्व निर्धारित समयमा नै हुने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयमा नै गर्ने निष्कर्ष निकालेको हो । कांग्रेसले गत पुस ११ मा १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा पार्टीको केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने उल्लेख गरिएको थियो ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै देशभर गरिएको लकडाउनका कारण क्रियाशील सदस्यता नवीकरण तथा वितरण र संघीय संरचना अनुसार पार्टी संगठन संरचना समायोजनका काम प्रभावित हुँदै आएका छन् । जसले गर्दा केन्द्रीय महाधिवेशन बाहेक तल्ला तहका महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार फेरबदल हुनेछन् । पार्टी विधान अनुसार कांग्रेसले सबै जिल्ला, क्षेत्रीय समिति लगायतमा समायोजनका काम पूरा गर्न अझै सकेको छैन । गत चैतभित्रै पूरा गर्नु पर्ने समायोजनका काम पटकपटक म्याद थप गरे पनि अझै करिब ३० जिल्लाले पूरा गर्न सकेका छैनन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको सम्भावित कार्यतालिका प्रस्तुत गरेका थिए । महामन्त्री खड्काले प्रस्तुत गरेको सम्भावित कार्यसूचीमा २०७७ असार मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गर्ने, असार २५ देखि साउन मसान्तसम्म क्रियाशील सदस्यता वितरण प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले गर्ने, असोज १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरणबारे उजुरी दिनुपर्ने भएमा दिने, असोज मसान्तसम्म उजुरी सम्बन्धमा छानविन समितिले निर्णय गर्ने, कात्तिक मसान्तसम्म छानविन समितिको निर्णय चित्त नबुझे पुन उजुरी दिने समय राख्ने, मंसिर १५ भित्र उजुरी र पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गर्ने, मंसिर २५ सम्म नयाँ क्रियाशील र नवीकरण सदस्यको नामावली केन्द्रीय सभापतिलाई बुझाउने र मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने उल्लेख गरिएको छ ।

त्यसैगरी ०७७ पुस ६ मा गाउँ र नगर वडा अधिवेशन गर्ने, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन गर्ने, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने, पुस १३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन) गर्ने, पुस १६ मा (एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा) अधिवेशन गर्ने, माघ ६ मा प्रदेश अधिवेशन गर्ने र फागुन ७ देखि १० सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख गरिएको छ ।

तर महामन्त्री खड्काले प्रस्तुत गरेको कार्यतालिकालाई मंगलबार बस्ने केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै लागू हुनेछ । यदि केन्द्रीय समितिले अनुमोदन नगरेमा पुन हेरफेर हुन सक्नेछ ।

Logo