काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा जारी भएपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउने चलखेल सुरु भएको बताएका छन् । ६९ औँ मदन जयन्तीका अवशरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल सुरु भएको बताएका हुन् । पहिले चीनसँग पारवहन सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नक्सा जारी भइ संविधान संशोधन गरेपछि पुनः सरकार परिवर्तनको खेल सुरु भएको बताए । नयाँ नक्सा जारी गरेवाफत प्रधानमन्त्रीबाट हटाउँछु भन्ने सपना कसैले नदेख्न पनि उनको चेतावनी छ । उनले भने–‘पहिले चीनसँग ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्यो । अहिले नयाँ नक्सा जारी भइ संविधान संशोधन भयो । संविधान संशोधन गर्ने ओलीलाई हटाउन भित्रभित्र चलखेल भएको छ ।’
आफूलाई हटाउने चलखेल सुरु भएको बुझ्न भारतीय सञ्चार माध्यमलाई लिन सकिने ओलीको भनाइ छ । उनले विभिन्न होटलका गतिविधि र दूतावासको सक्रियताले आफूलाई हटाउने चलखेल गरेको दाबी गरे ।
नेकपाको सरकार बहुमत प्राप्त भएकाले कसैले चाहाना राख्दैमा नफेरिने उनले बताए । साथै, अहिलेको नेपाली राष्ट्रियता त्यती कमजोर नरहेको उनले बताए । ‘नेपालको राष्ट्रियता यति कमजोर छैन । नयाँ नक्सा सार्वजनिक गरी संवैधानिक अंग बनाए वापत प्रधानमन्त्रीलाई हटाउन सक्ने’–प्रधानमन्त्री ओलीले भने–‘यदी कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सपना देख्या छ भने त्यो पूरा हुँदैन । आजको राष्ट्रियता त्यति कमजोर छैन ।’
त्यस्तै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति गरेपनि तत्कालै परिवर्तन गर्न नसक्ने दाबी समेत गरेका छन् । साथै, उनले कसैले प्रधानमन्त्री बन्न पनि हतार नगर्न पनि आग्रह गरेका छन् । सरकारको कार्यशैलीप्रति पार्टीभित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो । आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले देशको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति कोही नभएकाले बस्नुपरेको बताए । उनले भने–‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन् । तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैसँग छैन । किनभने भोलिपल्ट वर्खास्त हुन्छ । त्यसैले आजका लागि होइन भोलीका लागि म प्रधानमन्त्री बन्नुपर्छ ।’ ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत स्पष्ट पारेका छन् । नेपाली पक्षले भुलचुकले लामो समयदेखि गुमेको भूमि समेतको नक्सा नछापेको पनि उनले बताए ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् । राष्ट्रपति भण्डारीले १६ करोडको गाडी चढेकोमा आलोचना भएकोतर्फ संकेत गर्दै ओलीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताएका हुन् । जनताले भन्दा पनि आफै महंगा गाडि चढ्नेहरुले राष्ट्रपतिले महंगो गाडी चढ्यो भनेर आलोचना गर्ने गरेको उनको आरोप छ । स्वीडेनका राजाले साइकलमा हिँड्नु गाडी नभएर भन्दा पनि सोखका कारणले भएको ओलीको दाबी छ । ‘स्वीडेनको राजा साइकलमा हिँड्छन् । उनी सोखका लागि हिड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सोखको कुरा हो ।’
प्रधानमन्त्री ओलीले आफू शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताए । उनले भने–‘कतिपयले लगाएको जुत्ताको समेत आलोचना गर्छन् । तर म शासक हुन नभएर देशको सेवाका लागि जन्मिएको हुँ ।’





























प्रतिक्रिया