नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई आजैदेखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।

दुई दशक लामो बैंकिङ अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकमा प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए । २०६२ सालमा नेपाल बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए । 

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । 

वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

Logo