हराउँदै घर लिप्ने परम्परा

हराउँदै घर लिप्ने परम्परा

केन्द्रबिन्दु
0
Shares

बडादसैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादसैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेशिएका आफन्तहरू पनि दसैँको मौका पारेर घर फर्किने गर्दछन्।

दसैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दसैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ।

आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका-३ की सुशीला पुनले बताइन्।

उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ।’आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ।

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ।

गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन्। अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए।

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ। अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ।

बजारमा पनि ठूला ठूला पक्की घर छन्। गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा सहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन्। उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो। भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो।’

Logo