मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नाश हुनेगरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सुरु गरेको छ।
सामूहिक हत्या भएको १० दिन बितिसक्दा पनि प्रहरीले हत्याको कारण र हत्याराबारे कुनै तथ्य, प्रमाण सार्वजनिक गर्न सकेको छैन। यसैबीच हत्याकोथप अनुसन्धान गर्न शनिबादेखि सीआइबीले मुगु हत्या प्रकरणको बाँकी अनुसन्धान गर्न थालेको छ।
कार्तिक ८ गते (यद्यपी ८ गते वा ९ गतेराती हत्या भएको भन्ने यकिन विवरण प्रहरीले दिन सकेको छैन) तीन बालबालिका सहित परिवारकै सामुहिकहत्याको सूचना प्रहरीले १० गते बिहान ९ बजे मात्र पाएको थियो।
त्यसयता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्व सहित जुम्ला र कर्णाली प्रदेश प्रहरीको उच्च नेतृत्वले संयुक्त रुपमा अनुसन्धान गरेपनि ठोस प्रमाण पत्ता लगाउन सकेको छैन।
सुरुबाटै घटनास्थल केन्द्रीत गरी अनुसन्धान थालेको र आवश्यक सोधपुछ जारी राखेपनि ठोस प्रमाण फेला नपरेकोले उक्त घटनाबारे सीआईबीले प्राविधिक अनुसन्धान कार्य हिजोबाट अघि बढाएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
‘घटना भएदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको नजिकबाट अनुसन्धान गरिरहेको छ।फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुअल्ली सबै काम प्रहरीले गरिरहेको छ। सीआईबीले प्राविधिक अनुसन्धानको कार्य हिजोबाट अघि बढाएको छ,’थापाले बताए।
सीआईबी प्रहरी नायव उपरीक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न टोली खटाएको छ। यद्यपी टोलीमा सहभागी सदस्य संख्याबारेप्रहरीले विवरण दिएको छैन।
घटनाको थप अनुसन्धानको जिम्मा सिआईबीले लिएपनि स्थलगत अनुसन्धान गरिरहेका प्रहरी टोली र सिआईबीले संयुक्त रुपमा सहकार्य गरी अघि बढ्ने र छिट्टै हत्यारा पत्ता लगाउने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराई जानकारी दिए।
यस्तै मृतकका पति दीपक बोहोराले हत्यारा पत्ता नलगाई परिवारको दाहसंस्कार नगर्ने अडान छोडेर परिवारको दाहसंस्कार गरिसकेका छन्।उनले आफ्नी पत्नी,दुई छोरा र छोरीको १७ गते अन्तिम संस्कार गरेका हुन्।





























प्रतिक्रिया