सर्वगुणी बेसारः महिमा अपार

सर्वगुणी बेसारः महिमा अपार

केन्द्रबिन्दु
0
Shares

चितवन । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला ।

नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ ।

पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा. श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउँछन् उनले भने–‘बेसारले शरीरको शक्ति बढाउन मद्दत गर्छ ।’ कोरोना जस्ता हजारौँ भाइरस प्रकृतिमा रहेको जनाउँदै उनले बेसारले भाइरस विरुद्ध लड्न केही न केही सहयोग पु¥याउने बताए ।

बेसारमा पाइने गुणकारी तत्वले शरीरमा भाइरसले जन्माउने अरू भाइरस (प्रतिकृति) रोक्न मद्दत गर्ने तथा भाइरसको संख्या कम गर्ने विज्ञ बताउँछन् । प्रा डा. अधिकारी बेसार मधुमेह, सुन्निनु, दुखाइ, घाउ खटिरा, छालाका रोगको उपचारका साथै शरीरमा बोसो एवं चिल्लोको मात्रा घटाउन तथा आमाको दूधमा खराबी भएमा र दमखोकीमा पनि उपयोगी छ ।

यस्तै अप्राकृतिक रुपमा बढ्ने शरीरका कोष रोक्न यसले मद्दत गर्ने उनको भनाइ छ । उनले भने–‘शरीरभित्रै पनि विष बन्छ, त्यो विष नाश गर्न वा पचाएर स्वस्थ राख्न बेसार उपयोगी छ ।’ शरीरमा बाहिरबाट आएको एलर्जी नाशका लागि पनि बेसार प्रयोग गरिने उनले बताए । जीवाणु मार्न, रगत सफा गर्न तथा खाएको कुरा पचाउन बेसारले काम गर्ने अधिकारीको भनाइ छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा. कोपिला अधिकारी आयुर्वेदका प्राचीन र अर्वाचीन (आधुनिक) ग्रन्थमा बेसारको प्रशस्त महिमा उल्लेख भएको बताउँछिन । विशेषतः व्याधिक्षमत्व (रोग प्रतिरोधात्मक क्षमता वृद्धि), प्रतिश्याय (रुघा), प्रमेह (मधुमेह), पाण्डु (रक्तअल्पता), व्रण (घाउखटिरा), कृमी (जुका) नाश र सौन्दर्य वृद्धिमा यसको प्रयोग गरिने उनको भनाइ छ ।

मस्तिष्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फिटेर खानु उत्तम हुने उनको सुझाव छ । डा. अधिकारीले भनिन्–‘वैज्ञानिक शोधहरुमा प्रकाशित तथ्याङ्कअनुसार बेसारमा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको सङ्क्रमण, नेत्राभिष्यं (आँखासम्बन्धी रोग) जीर्ण व्रण (घाउखटिरा), ढुसीजन्य सङ्क्रमण र क्यान्सरविरुद्ध लड्ने क्षमता हुन्छ ।’

कोरोना सङ्क्रमितको प्रयोगशाला परीक्षणबाट सङ्क्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोशिका र हेमोग्लोबिनको संख्या घटेको पाइएको छ । यसले गर्दा सङ्क्रमितमा खतराका लक्षण देखिन सक्छ । साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो संख्यामा वृद्धि भएको र खतराका चिह्न पनि नदेखिएको पाइएको उनले बताइन् । उनले भनिन्–‘कोरोनासँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी छ ।’

छिमेकी मुलुक भारतले आयुर्वेद र योग तथा चीनले परम्परागत चिनियाँ उपचार पद्धतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस संख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएको अधिकारीले बताइन । उनले भनिन्–‘हामीले पनि नेपालमा उपलब्ध हरिद्रार (बेसार), तुलसीलगायत भाइरस विरुद्ध सक्रिय औषधिय गुण भएका एवं गुर्जो, अश्वगन्धालगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडीबुटीको नियमित सेवन, योग, प्राणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ ।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डा. प्रशान्त पण्डित बेसार कोरोना रोगसँग लड्न सहयोगी हुने दाबी गर्छन । छाला र रुघाखोकीको समस्या हटाउन तथा रोगप्रतिरोधी क्षमता बढाउन बेसारको उपयोगिता बढी भएको डा. पण्डितको भनाइ छ । परापूर्वकालमा मसलाका रुपमा भान्सामा प्रयोग हुने बेसार शरीरको सौन्दर्यका लागि हुँदै आयुर्वेद औषधिका रुपमा प्रयोग हुन थालेको उनले बताए । भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरि पनि बेसारले सङ्क्रमणलाई कम गर्न सहयोग पुग्ने बताए। यसले चिसोबाट हुने सङ्क्रमण रोक्ने काममा भूमिका खेल्ने उनको भनाइ छ । (नारायण अधिकारी/रासस)

Logo