अध्यक्ष थापाको प्रश्न ? रोटीबेटीको चिन्ता नेपालले मात्र लिनुपर्ने हो

अध्यक्ष थापाको प्रश्न ? रोटीबेटीको चिन्ता नेपालले मात्र लिनुपर्ने हो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रोटीबेटीको चिन्ता नेपाललाई मात्र हुनपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार अध्यक्ष थापाले ट्वीट गर्दै त्यस्तो प्रश्न गरेका हुन् । नागरिकता विवाद सतहमा आएको बेला अध्यक्ष थापाले यस्तो प्रश्न गरेका हुन् । शनिबार बसेको नेकपाको सचिवालय बैठकले विवाह गरेर नेपाल आउने महिलाले सात वर्ष स्थायी रुपमा बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेको थियो । नेकपाले गरेको निर्णयलाई लिएर  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेश केन्द्रीत दलले भारतसँगको रोटीबेटीको सम्बन्धमा असर पर्ने टिप्पणी गरेका छन् ।

करिक १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्ने नेपाली महिलाले नागरिकताको निवेदन दिन कम्तिमा ७ वर्ष पर्खनुपर्ने भन्दै नेपालमा एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिनुपर्ने विषयमा कांग्रेसको समर्थन देखेर आश्चर्य लागेको थापाको भनाइ छ । ‘१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि कम्तिमा सात वर्ष पर्खनुपर्छ’–उनले ट्वीटरमा लेखेका छन्–‘३ करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक छ । के रोटीबेटीको चिन्ता नेपाललाई मात्र हो ? यस विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

त्यस्तै अध्यक्ष थापाले २०६२/०६३ को आन्दोलनका आडमा लागू गरिएको विधेयकबाट १० औँ लाख विदेशीलाई नागरिकता वितरण गरिएको आरोप लगाएका छ । राजा विरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको नागरिकता ऐनलाई जीवित गर्ने कांग्रेसको प्रयास आपत्तिजनक भएको थापाको भनाइ छ । ‘श्री ५ विरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको राष्ट्रहित विपरीतिको नागरिकता ऐन ०६३ लाई आन्दोलनको रापतापमा लागू गरी दशौँ लाख विदेशीलाई नेपाली नागरिकता वितरण गरेको तथ्य सर्वविदित छ’– उनले ट्वीटरमा लेखेका छन्–‘अहिले सोही ऐनको व्यवस्था विउंताउने कांग्रेसको प्रयास आपत्तिजनक छ ।’

Logo