काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भीसेप रिकभरी हुने स्थिति अझै पनि रहेको बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताए । उनले भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदा समेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताए ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरु कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरुमा सरकारले सहजिकरण गरिरहेको समेत बताए । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको स्पष्ट पारे । उनले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले विर्सन नसक्ने बताए । उनले मुलुकको खाद्य सुरक्षा, उर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षा सम्बन्धी विषयमा आत्मनिर्भर हुने गरी आर्थिक गतिविधिलाई अगाडि बढाउनु पर्ने बताए ।
यस्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको समेत अर्थमन्त्री खतिवडाले जवाफ दिएका छन् । कोभिडको जोखिमले अर्थतन्त्रमा ल्याएको शिथिलताको अवस्थामा सरकारले नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । उनले सरकारले आन्तरिक ऋण उठाउँदैमा निजी क्षेत्रको लगानी नघट्ने समेत स्पष्ट पारे । निजी क्षेत्रको लगानी बढाउनको लागि विभिन्न क्षेत्रहरुलाई खुल्ला गरिएको अर्थमन्त्री खतिवडाले बताए ।
ऋण तथा जमानत (चौविसौं संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले जमानत बस्दा व्यवसायीक सम्भावना भएका क्षेत्रहरु हेरेर मात्रै जमानत बस्ने बताए । उनले वित्तीय रुपमा सवल भएका सार्वजनिक संस्थाले आफै ऋण परिचालन गर्न सक्ने र वित्तीय अवस्था सुदृढ नभएको संस्थालाई उकास्न पर्ने भएमा सोचेर मात्रै सरकारले काम गर्ने स्पष्ट पारे ।





























प्रतिक्रिया