काठमाडौं ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् ।
विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए ।
मन्त्री खतिवडाले भने, “लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्नेछ । मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ । सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद नरहेको बताउँदै उनले भने, “सेटेलाइट सम्बन्धी सबै कुरा पारदर्शी र प्रतिस्पर्धाका आधारमा हुनेछ । यसको प्रारम्भिक काम मात्रै आगामी आर्थिक वर्षमा प्रारम्भ गरिन लागिएको हो ।
विज्ञापन अब छापाको माध्यमबाट मात्र होइन, अन्य माध्यमबाट पनि दिन सकिन्छ भन्ने व्यवस्था गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठन भइसकेपछि विधिसम्मत् ढङ्गले लोककल्याणकारी विज्ञापन उपलब्ध हुने बताए । उनले भने, “बोर्ड गठनपछि कुनै व्यक्ति विशेषलाई विज्ञापन दिने स्थिति हुँदैन, विज्ञापन बोर्ड अब छिट्टै गठन हुनेछ । कसलाई दिने, कसलाई नदिने, कुन विधिबाट दिने, निश्चित मापदण्ड र वस्तुवादी ढङ्गबाट पारदर्शी ढङ्गले बोर्डले काम गर्नेछ ।”
विगतका तुलनामा सञ्चार माध्यमलाई यस पटकको बजेटले धेरै सम्बोधन गरेको बताउँदै मन्त्री खतिवडाले भने, “सञ्चार गृहका लागि कारोवारका आधारमा लाग्ने शुल्कमा ५० प्रतिशतले घटाइएको छ, दर्ता नवीकरण गर्ने समय बढाइएको छ, सबै किसिमका बैङ्किङ प्रणाली ऋण लिएर सञ्चार गृह सञ्चालन गरिएको छ भने ब्याज र ऋणको ब्याज बुझाउने समयसीमा धकेल्ने स्किम सञ्चार क्षेत्रलाई पनि छ ।”





























प्रतिक्रिया