स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले कोभिड–१९ को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी संक्रमणबाट सुरक्षित रूपमा स्वदेश आउने, क्वारेन्टाइनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने/गराउने विषय समेटिएको छ ।

कार्ययोजनामा स्वदेश फर्कने नागरिकको व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने र कसरी सहजीकरण गर्ने भन्ने उल्लेख छ । सरकारले अलपत्र अवस्थामा रहेका भारतबाहेक देशबाट पहिलो चरणमा करिब २५ हजार नागरिक ल्याउने गृहकार्य गरिरहेको छ ।

पहिचान परराष्ट्र मन्त्रालयबाट
तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण संकलन गरी सरोकारवाला निकायलाई उपलब्ध गराउने काम परराष्ट्र मन्त्रालयले गर्नेछ । त्यस कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउनेछन् ।

भारतबाहेक तेस्रो मुलुकबाट आउन उडाउन अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने तथा परराष्ट्र र गृह मन्त्रालयले उक्त कार्यमा सहयोग पु¥याउनेछन् । विदेशबाट फर्कनेको होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य स्वघोषणा फाराम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहले सहयोग पु¥याउने व्यवस्था गरिएको छ । हवाईजहाजबाट आउने व्यक्तिले साथमा लिइ आएको सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको जाँच विमानस्थलमा खटिएको चिकित्सक टोलीले गर्नेछ ।

सिमकार्ड निःशुल्क उपलब्ध गराइने
विदेशबाट आएर होल्डिङ वा क्वारेन्टाइनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलबाट निःशुल्क रूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ । प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टाइनमा पु¥याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ ।

होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेनासहितका सुरक्षा संगठन र स्थानीय तहले गर्नेछन् । क्वारेन्टाइनमा लजिष्टिक सपोर्टको व्यवस्था स्थानीय तहले गर्नेछ भने त्यसमा शहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग पु¥याउनेछन् ।

१४ दिन रु १७५ का दरले स्थानीय तहलाई रकम उपलब्ध
स्थानीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्ति वापत रु १ सय ७५ का दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ । तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टाइन खर्च स्वयंले व्यहोर्नुपर्ने छ ।

क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सुरक्षासम्बन्धी कार्यको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ भने समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।–रासस

Logo