काठमाडौं । नेकपा सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने निर्णय गरेकाे छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु रोक्ने सहमति भएको हो ।
बैठकपछि पत्रकारसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एमसीसी अन्तर्गतका काम राक्ने समझदारी भएको जानकारी दिए । उनले भने–‘एमसीसी अन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने गरी तत्कालका लागि रोक्ने समझादारी बनेको छ ।’
नेकपाभित्र एमसीसीलाई लिएर चर्को विवाद भएको थियो । सोही विवादलाई साम्य पार्न गत माघमा एमसीसी अध्ययन कार्यदल गठन गरिएको थियो । अध्ययन कार्यदलमा नेकपा सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेका थिए । सोही कार्यदलले एमसीसीमा रहेका ११ बुंदामा थप छलफल गर्नुपर्न सुझाव दिएको थियो । एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा थप अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
बजेटमा एमसीसी अन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्रीले सचिवालयमा स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले संसदमा जानकारी गराए अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालय बैठकमा एमसीसी पारित भए त्यही अनुसार काम हुने र नभए वैकल्पिक व्यवस्था गरेर अगाडि बढ्ने बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री डा. खतिवडाले सोही अनुसार नै संसदमा जवाफ दिने छन् ।
सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपाका स्थायी कमिटी सदस्य रावल पनि उपस्थित थिए ।





























प्रतिक्रिया