सरकार गुहार्दै यातायात व्यवसायी, ब्याज मिनाहा र सहुलियत दिनु पर्ने माग

सरकार गुहार्दै यातायात व्यवसायी, ब्याज मिनाहा र सहुलियत दिनु पर्ने माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउनका कारण लामो समयसम्म सवारी साधन बन्द गर्नु परेको भन्दै राहतका लागि यातायात व्यवसायीहरुले सरकार गुहारेका छन् । यातायात व्यवसायीहरुले सवारी साधनहरुको ऋणको किस्ता तिर्न समस्या परेको भन्दै किस्ताको अवधिमा सहुलियत तथा ब्याज मिनाहा गर्न माग गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको व्यवासायीको टोलीले यातायात मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक, गृहसचिव, बीमा समिति तथा बिमक संघ लगायतका विभिन्न निकायलाई भेटी आफ्ना समस्याको जानकारी गराएका छन् ।

यातायात व्यावसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई भेटी सार्वजनिक यातायातका साधनको वार्षिक कर, रुट परमिट, नवीकरण, जाँचपासको अवधि लकडाउन खुलेपछि स्वतः थप गर्न तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने गरी व्यवस्था गर्न आग्रह गरेका छन् । त्यस्तै, व्यवसायीहरुले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई पनि भेटेका छन् । सो भेटमा नियमित किस्ता तिर्न नसक्ने अवस्था भएको भन्दै सवारी संचालन भएपछि मात्रै तिर्न पाउनु पर्ने माग गरेका छन् ।

त्यसैगरी, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई पनि व्यवसायीहरुले भेटको महासंघका महासचिव सरोज सिटौलाले बताए । सो भेटमा लकडाउन हटेपछि सार्वजनिक सवारीका साधन कसरी सञ्चालन गर्ने तथा के कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा छलफल भएको महासचिव सिटौलाले बताए । उनले बीमा समिति, बीमक संघ लगायतलाई पनि भेटेर छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको बताए । लकडाउनको समयमा अन्य क्षेत्र घाटामा गएको तर बैंक र बीमा कम्पनीहरु नाफामा गएको भन्दै ब्याज मिनाह गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै महासचिव सिटौलाले लकडाउन अवधिभरीको बीमा सवारीको आवागमन खुलेपछि स्वतः थप हुने गरी ब्यबस्था गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बताए ।

लकडाउनका कारण २ लाख ५५ हजारभन्दा बढी सार्वजनिक सवारीका साधनहरु ब्यबसायीहरुका घर र ग्यारेजहरूमा थन्किएको महासंघले जनाएको छ । सरकारले शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरेपनि यातायात भने खुलेका छैनन् ।

Logo