ताप्लेजुङका तीन गाउँपालिकाले निशुल्क आफ्ना नागरिक घर फर्काउँदै

ताप्लेजुङका तीन गाउँपालिकाले निशुल्क आफ्ना नागरिक घर फर्काउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ताप्लेजुङ जिल्लाका तीन गाउँपालिकाले काठमाडौंमा लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई निशुल्क घर फर्काउने भएका छन् । फक्ताङ्लुङ, मैवाखोला र सिदिङ्वा गाउँपालिकाले आफ्ना नागरिकलाई घर पुर्याउन पहल गर्ने भएका हुन् ।

जिल्लाबाट अध्ययन, व्यापार व्यावसाय, रोजगारी तथा विभिन्न सिलसिलामा काठमाडौंमा रहेर लामो समयदेखि गरिएको लकडाउनका कारण अलपत्र परेका नागरिकहरुलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको समन्वयमा उद्दार गर्न लागेको हो ।

लामो समयदेखि गरिएको लकडाउनका कारण संघीय राजधानी काठमाडौंमा रहेका नागरिकको जीवन निर्वाह गर्न समस्या भएको गुनासो बढेसँगै गाउँपालिकाले उद्दार गर्न लागेको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बुले बताएका छन् । फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्ना स्थानीय तहका नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यस्तै सिदिङ्व गाउँपालिकाले काठमाडौंबाट ताप्लेजुङसम्म पुगेको बसको टिकट उपलब्ध गराउनुपर्ने जनाएको छ । गाउँपालिकासम्म लैजान छुट्टै गाडीको व्यवस्था गर्ने भन्दै नागरिकलाई निश्चित समय अनिवार्य क्वारेटाइनमा बस्नुपर्ने समेत उल्लेख गरेको छ ।

त्यस्तैगरी ताप्लेजुङ सरोकार केन्द्रले लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका जिल्लाबासीहरुलाई सहयोग गर्दै आएको छ । सरोकार केन्द्रले काठमाडौंबाट गृह जिल्ला फर्किन इच्छा भएका व्यक्तिलाई गाउँपालिकाको समन्वयमा लैजान पहल गर्ने जनाएको छ ।

केन्द्रले बिहिबार काठमाडौंबाट गाडी ताप्लेजुङतर्फ जाने भन्दै त्यसका लागि अहिले विवरण संकलन भईरहेको जनाएको छ । केन्द्रका अनुसार गाडी चढ्नु भन्दा पहिले र जिल्लामा पुगेपछि पनि पुनः स्वास्थ्य जाँच गरिने छ ।

Logo