कोरोना अभियानमा खुलेर जागरूक भएकी अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनी यति बेला सामाजिक सञ्जालमा सक्रिय छिन् भने उनको सक्रियता सामाजिक काममा पनि देखिन थालेको छ । केही दिन अगाडि मात्र वर्षाले कोरोना सङ्क्रमितको सहयोगका लागि १ लाख सहयोग गरेकी थिइन् ।
यसैबीच आफ्नो घर वरिपरि रहेका जनावरलाई खान खुवाउन अपिल गर्दै आईरहेकी वर्षाले आफूबाटै घर बाहिर छोडिएका कुकुरलाई खाना खुवाउन सुरु गरेकी छिन् । सामाजिक संजालमा कुकुरहरुलाई खाना दिईरहेको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन् – ‘दिन दिनै नयाँ नयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौँ । तर यिनीहरुको बारेमा कसले सोच्ने जो हाम्रो खानामा निर्भर छन् । न बोल्न नै सक्छन् न भोक लाग्यो भन्न नै । हामी सबैमा यिनीहरु प्रति माया नहोला तर मानवता भने पक्कै छ । आफ्नो घर वरिपरिका जनावरहरुलाई आफुले सक्नेसम्म खाना खुवाऔँ ।’
लक डाउनको कारण सडकमा रहेका कुकुरहरू भोकै परेका छन् । होटेल, रेस्टुरेन्ट, मासु पसल लगायतबाट बढी भएका र फालिएका खानाबाट भोक मेटाइरहेका यी जनावरहरु यति बेला निकै समस्यामा परेका छन् । त्यसैले सबैले आ आफ्नो घर वरिपरि देखिने यस्ता निर्दोष जनावरलाई सहयोग गर्न वर्षाले अपिल गरेकी हुन्।





























प्रतिक्रिया