काठमाडौं ।
सरकारले कोरोना संक्रमण विरुद्ध लड्नका लागि केन्द्रीय राहत कोषको स्थापना गरेसँगै राहत पनि बढ्न थालेको छ ।
पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्च सरकारले ५० करोड रुपैयाँ बराबरको राहत कोष निर्माण गरेको छ । सो कोषमा राहत आउने क्रम बढेको छ । यस कोषमा नेपाल बैंकले राहत स्वरुप १ करोड रुपैयाँ जम्मा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले संकटका घडीमा राहतका लागि सो रकम उपलब्ध गराएको बताए ।
त्यसैगरी उद्योगपति वसन्त चौधरीले पनि कोरोनाको संक्रमणसँग लड्न राहत कोषलाई रकम उपलब्ध गराएका छन् । उद्योगपति चौधरीले कोरोना भाइरसको संक्रमणबाट सरकारले बनाएको सो राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । चौधरीले नर्भिक/बसन्त चौधरी फाउन्डेसनको तर्फबाट ५० लाख नगद र अत्यावश्यक मेडिकल सम्बन्धी सामग्री उपलब्ध गराउन ५० लाख रुपैयाँ उपलब्ध गराउने भएका हुन् ।
त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन् । आइतबार साँझ मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कोषको स्थापना गरेसँगै सांसद थापाले यस्तो प्रस्ताव गरेका हुन् । उनले कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिएका बेला सांसद थापाले सांसदहरुले पनि सो राहत कोषमा एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका हुन् ।
हालसम्म सो राहत कोषमा नेपाल बैंकको १ करोड रुपैयाँ र वसन्त चौधरीको १ करोड गरी जम्मा २ करोड रुपैयाँ जम्मा भएको छ । अरु पनि सहयोग रकम आउने क्रम जारी छ ।





























प्रतिक्रिया