काठमाडौं ।
माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था भएको छ ।
माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाडौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा ५ हजार लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुखप्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वरचोक लगायत काठमाडौं तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हात धुनु अनिवार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हातधुन सम्भावना हुने हुँदा बैंक तथा महानगरिय प्रहरी कार्यालयले आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।
बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सके सम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबारलाई कम गरिदिनु हुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमा आग्रह गरेको छ ।





























प्रतिक्रिया