दैनिक उपभोग्य वस्तु नियमित आयात, भारतबाट थप ग्याँस ल्याइँदै

दैनिक उपभोग्य वस्तु नियमित आयात, भारतबाट थप ग्याँस ल्याइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले नियमित रुपमा आयात भइरहेको जनाएको छ ।

नाकाबन्दीका बेला आयात नहुँदा चरम रुपमा कालोबजारी बढेको थियो । त्यतिबेला भारतले दैनिक उपभोग्य वस्तु लगायत सबै प्रकारका आयातमा रोक लगाएको थियो । जसको मार नेपाली उपभोक्ताले खेपेका थिए । तर अहिले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै प्रतिबन्ध लगाइएको छैन । कोरोनाको संक्रमण कम गर्न नाकाहरुमा कडाई गरेपनि बजारमा अभाव हुन नदिन सरकारले आयातलाई नियमित गरेको छ । दैनिक उपभोग्यका सामानहरु दाल, चामल, चिनी, खानेतेल, साबुन, नुन तथा ग्याँस लगायतका सामानहरु बजारमा प्रशस्त मात्रामा उपलब्ध छन् ।

सरकारले कुनै पनि वस्तुको आपूर्ति कम हुन नदिन सम्बन्धित निकायले २४ घण्टे काम गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सार्वजनिक रुपमै भन्दै आएका छन् । सरकारले दैनिक उपभोग्य वस्तुमा कुनै समस्या आएमा ११३७ हटलाइनमा फोन गर्न समेत आग्रह गरेको छ ।

साथै कुन कम्पनीबाट कति बुलेट ग्यास आउँछ र कुन कुन डिपोमा कति मात्रामा गयो, ग्राहकको विवरणसमेत संकलन गरी अध्ययन समेत गर्ने सरकारको तयारी छ । हाल साल्ट ट्रेडिङसँग २० हजार मेट्रिकटन नुन मौज्दात छ । सोे मौज्दातले ६ महिनाका लागि पुग्छ । त्यस्तै, चामल दैनिक १ हजार क्विन्टल उत्पादन भइरहेको छ । ग्याँस एक हप्ताका लागि मौज्दात छ । दैनिक आयातमा पनि कुनै अवरोध आएको छैन ।

तर पनि बजारमा कालोबजारी चरम रुपमा बढिरहेको छ । कालोबजारी बढ्न थालेपछि सरकारले विभिन्न पाँच स्थानमा सहुलियत दरमा सुपथ मुल्य पसल समेत संचालनमा ल्याएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले निर्वाध रुपमा दैनिक उपभोग्य सामान आइरहेकाले अभाव नहुने बताए । अहिले बजारमा व्यापारीहरुले ग्याँसको कृत्रिम अभाव सिर्जना गरेकाले भारतसँग थप ग्याँस आयात गर्न लागिएको छ । नियमति आइरहँदा पनि बजारमा ग्याँस अभाव भएपछि सरकारले १५ हजार टन थप ग्याँस ल्याउन लागेको हो ।

Logo