कोभिड–१९ बारे जानकारी दिन महानगरको सहायता कक्ष

कोभिड–१९ बारे जानकारी दिन महानगरको सहायता कक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कोभिड– १९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस संक्रमणको शंका लागेर, अब के गर्ने भन्ने थाहा नपाएकालाई टेलिफोन परामर्शका लागि कक्ष स्थापना गरिएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

सहायता कक्षबाट कारोना रोगबारे जानकारी दिने, कोही संक्रमण भए अस्पतालसम्म पुर्याउनका लागि सहयोग गर्ने, अस्पताल र बिरामीसँग समन्वय गरेर उपचारका लागि सहजीकरण गर्ने काम हुनेछ । प्रमुख ढकालका अनुसार कामपाको हटलाइन पनि यसै स्थानबाट सञ्चालन हुनेछ । बिहिबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले हटलाइन टेलिफोन सेवा २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको आकस्मिक कोष स्थापना गर्ने, केन्द्र र वडास्तरमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितका सहायता कक्ष स्थापना तथा सञ्चालन गर्नेलगायत निर्णय गरेको थियो । शनिबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै संक्रमणको आशंका लागे हटलाइन ११८० मा सम्पर्क गर्न, भीडभाड नगर्न अनुरोध गरेका छन् ।

त्यस्तै महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठले महानगरमा अत्यावश्यकीय सामग्रीमा कालोबजारी नियन्त्रण गर्न अनुगमन कार्यलाई निरन्तरता दिइने बताइन् । सहायता कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो । अहिले विश्वमा नै कोभिड–१९ को संक्रमण बढिरहेकाले कामपाले पनि सजगकता अपनाएको छ ।–रासस

Logo