काठमाडौं ।
कोरोना भाइरसका कारण एकै ठाउँमा २५ जना भन्दा बढी जम्मा हुन नपाउने सरकारको निर्णय पछि शेयर बजार पनि बन्द हुने भएको छ ।
शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डबीच छलफल भइरहेको छ । ‘धितोपत्र बोर्ड सहमत भइसकेको छ, छलफल गरेर बन्द गर्ने निर्णय गर्छाैँ ।’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउतले भने । कति समयका लागि बन्द गर्ने भन्ने निर्णय नभईसकेको प्रमुख कार्यकारी अधिकृत साउतले बताए । शेयर बजारमा लामो समयदेखि गिरावट आइरहेको छ ।
लामो समयसम्म लगातार गिरावट आउँदा शेयर बजारका लगानीकर्ताहरुले ठूलो क्षति भोग्नु परेको छ । त्यसैमाथि कोरोना भाइरसका कारण सरकारले भेला हुन प्रतिबन्ध लगाएसँगै शेयरका लगानीकर्तालाई थप मार परेको छ ।
शेयर बजारमा १३ अंकको सुधार
लामो समयसम्म लगातारको गिरावटपछि विहिबार शेयर बजारमा केही सुधार आएको छ । बिहिबार नेप्से १३.५ अंकले बढेर १२६९ विन्दुमा पुगेर कारोबार रोकिएको छ । यस अवधीमा १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैँयाँ बराबरको कारोबार भएको छ । ५१ लाख ६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
सबैभन्दा धेरै कमाउनेको सूचीमा जन उत्थान सामूदायिक लघुवित्त विकास बैंक रहेको छ भने गुमाउनेमा सेन्ट्रल फाइनान्स रहेको छ । बिहिबार १ सय ७३ कम्पनीहरुले कारोबार गरेका छन् । जसमध्ये निर्जीवन बीमा ७७.३२, लघुवित्त २०.५९,बैकिङ्ग १३.६५, जलविद्युत ९.१६,अन्य ५.६५ र म्युचल फण्ड ०.०१ अंकले कारोबार बढेको छ ।
वित्त ६.५४, विकास बैंक ३.२७, उत्पादनमूलक २.२ र व्यापार १.३६ अंकले कारोबारमा गिरावट आएको छ । डिष्टिलरी ३१ करोड ३३ लाख ५ हजार ४ सय ८७ रुपैयाँ सहित कारोबारमा अग्रस्थानमा रह्यो ।





























प्रतिक्रिया