काठमाडौं ।
कोरोना भाइरसका कारण विश्वको आर्थिक अवस्था संकटतर्फ जाँदै गर्दा नेपालको वित्तीय अवस्था पनि प्रभावित हुन थालेको छ ।
यतिबेला कोरोना त्रासका कारण बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको बैंकमा उपस्थिती घटेको छ । सरकारले ठुला कार्यक्रम, जमघट तथा भेलाहरुको आयोजना गर्न रोक लगाएसँगै बैंकमा हुने भीडभाड पनि कम भएको छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘कोरोना त्रासका कारण बैंकमा फिजिकल उपस्थिती कम भएको छ ।’
बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा हुने भीडभाड कम गर्न आफ्ना ग्राहकहरुलाई सकेसम्म डिजिटल कार्डबाट कारोबार गर्न आग्रह गर्न थालेका छन् ।‘ हामीले ग्राहक महानुभावहरुलाई कार्डबाट कारोबार गर्नुस भनेका छौँ ।’ अध्यक्ष दाहालले भने । बैंकमा भीडभाड कम हुने र कोरोना संक्रमणको प्रभाव पनि कम हुने भन्दै कार्डबाट कारोबार गर्न आग्रह गरिएको उनको भनाई थियो । कागजी नोटबाट पनि कोरोना संक्रमण सर्ने भएकाले डिजिटल कारोबार गर्न आग्रह गरिएको हो ।
अहिले पर्यटन क्षेत्रले बैंकसँग गर्ने कारोबार पनि घटेको छ । बुकिङ भएका ६० प्रतिशत भन्दा बढी होटलहरुको बुकिङ रद्ध भएका छन् भने पर्यटन क्षेत्रका होटल व्यवसायहरु सुनसान अवस्थामा पुगेका छन् । जसका कारण त्यस क्षेत्रबाट हुने बैंकिङ कारोबार घटेको हो । त्यसका साथै अन्य क्षेत्रको बैंकिङ कारोबारमा पनि विस्तारै असर देखिन थालेको छ । तर कुन क्षेत्रको कारोबारमा कति क्षति भयो भन्ने कुराको तथ्यांक भने आइसकेको छैन । हल्ला र त्रासका कारण केही मात्रामा प्रभावित भएपनि डराउनु पर्ने अवस्था भने नरहेको अध्यक्ष दाहालको भनाई छ ।
कोरोनाको संक्रमण नेपालमा भित्रिनसकेको भए पनि आम जनतामा त्यसको त्रास बढेको छ । हालसम्म बैंकिङ क्षेत्रमा त्यति ठूलो असर गरिसकेको छैन भन्छन्, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी । सरकारले धेरै मानिसहरुको जमघट हुने ठाउँमा जान रोक लगाउनुका साथै ठूला ठूला कार्यक्रमहरु रद्ध गरेसँगै बैंकका ग्राहकमा पनि त्रास देखिन्छ । कारोबारका लागि बैंकमा जाँदा धेरै मानिसहरु एकै ठाउँमा हुन्छन् । त्यसबाट आफूहरुमा पनि सर्ने हो कि भन्ने त्रास ग्राहकमा देखिन थालेको छ ।
कोरोना संक्रमणकै कारण सरकारले लक्षित गरेको ८.५ प्रतिशत आर्थिक वृद्धिदर खुम्चने नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले उल्लेख गरेको छ । ‘कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिन सक्छ भनेर मौद्रिक नीतिको समीक्षामा भनिसकेका छौँ ।’ राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीबि नेपालले भने ।





























प्रतिक्रिया