“नेपालमा उच्चस्तरीय गाँजा पाइन्छ भनेर विश्वभर चर्चा छ”

“नेपालमा उच्चस्तरीय गाँजा पाइन्छ भनेर विश्वभर चर्चा छ”

केन्द्रबिन्दु
0
Shares

गाँजालाई बैधानिकता दिने विषयमा अहिले बहस चलिरहेको छ । संघीय संसदमा यस सम्बन्धी विधेयक दर्ता भएसँगै बहस सिर्जना भएको हो । अहिले कतिपय गाँजा खुला गर्दा विकृति निम्तिने बताइरहेका छन् भने कतिपय यसले मुलुकलाई नै समृद्धिको बाटोतर्फ लैजाने बताइरहेका छन् । यसै सन्दर्भमा हामीले नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायसँग कुराकानी गरेका छौं ।

गाँजा सम्बन्धी वकालत गर्दै हुनुहुन्छ, खास किन ?

नेपालको धार्मिक आध्यात्मिक र परम्परागत हिसाबले गाँजा महत्वपूर्ण स्रोत हो । हिमाल, पहाड, तराई, लेक, बेसी तथा जस्तोसूकै हावापानीमा आफै उम्रिने यो वनस्पतिको महत्व नबुझेर नेपालले तीन चार दशकदेखि यसलाई गुमाएको छ । यसको महत्व बुझाउन सकियो भने नेपालको प्रत्येक घरका जनताहरुको आयआर्जनको स्रोत हुन्छ भन्ने मेरो बुझाई छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, जापान जस्ता देशहरुमा गाँजाको बारेमा अरबौँको अनुसन्धान भइसकेको छ । अनुसन्धानको क्रममा अरु जडिबुटीहरुबाट बनेको औषधिले ‘साइड इफेक्ट’ हुने र गाँजाबाट बनेको औषधिले कुनै पनि ‘साइड इफेक्ट’ नहुने कुरा पुष्टि भइसकेको छ ।

यसकै लागि जनमत पनि बढ्दै गएको छ । विश्वले नेपाललाई उच्चस्तरीय गाँजाको स्रोत भनेर धेरै पहिलेदेखि चिनिरहेको हुँदा यो बेलामा गाँजालाई बैध गरेर कानुनी तरिकाले यसलाई व्यवस्थित गरेर नेपाली किसानहरुको हितमा म गाँजा फुकुवा हुनुपर्छ भनेर लागेको हुँ ।

तपाईंको यो अभियान कहाँ पुग्यो ?

अहिले ऐन आएको छ । यसको बारेमा चर्को रुपमा राजनैतिक बहस पनि भइरहेको छ र राजनितिक एजेण्डा पनि बनिसकेको छ । मलाई लाग्छ बिस्तारै सबै कुराको बाटो खुल्छ ।

राजनीतिक दलहरुमा ‘कन्फ्युजन’ के छ ?

अहिले राजनीतिक दलहरु पनि मिडियाबाटै सुसिचित देखिन्छन् । उनीहरु पत्रपत्रिका र टेलिभिजनहरु बढी हेर्ने गरेका देखिन्छन् । अहिले कुनै मानिसहरु गाँजाको पक्षमा छन्, कुनै बिपक्षमा छन् र कुनै भर्खर यो विषयमा भर्खरै बुझिरहेका छन् ।

गाँजा वैध भइसकेपछि यसको नियमन कसरी गर्ने ?

वैध गरिसकेपछि आवश्यक परेको कुराहरु मिलाएर गर्नुपर्छ । फुकुवा गरेपछि कसैले खाने, दुरुपयोग गर्ने भन्ने होइन । गाँजामा अपराध हुन्न भन्न सकिन्न । गैरकानुनी काम गरेमा कानुनी कारवाही हुनेछ ।

गाँजा वैधता क–कसलाई हुन्छ ?

निर्यात कसरी गर्ने,कति गर्ने, बेच्नेलाई, फलाउनेलाई कस्तो नियम बनाउने भन्ने आदि कानुनले निर्धारण गर्ने कुरा हो ।

नेता तथा सांसदहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम सबैजना मिलेर यसको सदुपयोग र दुरुपयोगको कुरा मिलाएर प्रतिबन्ध फुकुवा गर्नुपर्छ । यसलाई के–के कुरामा प्रयोग गर्न सकिन्छ त्यो कुराको मात्र लाइसेन्स दिइनुपर्छ । यसको आयात–निर्यातको कुरामा कति कर लगाउने आदि कुराहरुको प्राविधिक रुपले काम गर्नुपर्छ । यसका लागि कानुन चाहिन्छ र कानुन पास गराउनतर्फ लाग्नुपर्छ । राज्यले अहिलेसम्म नेपाली किसानहरुलाई केही दिन सकेको छैन र सम्पूर्ण किसानहरुको हकहितका लागि यो काम गरिनुपर्छ । कानुन भनेको सधैँ एउटै रहिरहने कुरा होइन । दुरुपयोग गरेको पाइएमा कानुनलाई फेरि संसोधन गर्न सकिन्छ ।

अन्त्यमा, फुकुवा भयो भने के हुन्छ र भएन भने के हुन्छ ?

फुकुवा भयो भने देशमा आयआर्जनको स्रोत बढ्छ र फुकुवा भएन भने राज्यमा राजनैतिक असर पर्छ । फुकुवा भएन भने आगामी चुनावमा यही एजेण्डा लिएर निस्किन्छ र जनताहरुले त्यही दललाई अगाडि बढाउँछन् । यसबाट राज्यले धेरै आयआर्जन गर्ने हुँदा फुकुवा गर्नुपर्छ ।

यो पनि 

Logo